"मलाई लाग्छ, क्षेत्रीहरु पनि आदिवासी हुन्" : उपराष्ट्रपति पुन

 फागुन २०, २०७९ शनिबार १६:४४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरु आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताउनु भएको छ ।

उपराष्ट्रपति पुनले क्षेत्रीहरु आदिवासी हुन् वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रह समेत गर्नु भयो । शनिबार काठमाण्डौको कलंकीमा रहेकाे नेपाल मगर संघको भवन पुनर्निर्माण तथा सालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले आदिवासी जनजातिहरुले आफ्नो पहिचानको मुद्दालाई छाड्न नहुने पनि बताउनु भयो ।

संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकि रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिहरुले एकताबद्ध भएर सरकारलाई खबरदारी गरिरहनु पर्ने पनि उपराष्ट्रपति पुनको भनाई थियो । उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको पहिचान स्थापित गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

क्षेत्रीहरु आदिवासी हुन् कि होइनन् भन्ने कुरा अलि गहिरो विषय छ । र, यसको इतिहास, तथ्यहरु हामीले हेर्न जरुरी छ । मलाई लाग्छ–क्षेत्रीहरु पनि आदिवासी हुन भन्ने कुरा चाँही सही हो । यसका लागि आन्दोलन पनि उठेको थियो । र, त्यो आन्दोलन एउटा निष्कर्षमा जान सकेन । र, त्यसले दायाँबायाँ मोड लिन पुग्यो' उहाँले भन्नु भयो, 'त्यसो भएको हुनाले अलि गहिरिएर हामीले अध्ययनहरु गर्नुपर्ने, घोत्लिएर हेर्नुपर्ने, अलि छलफल गर्नुपर्ने कुनै आग्रह, पूर्वाग्रह विना हामी अलि माथि उठेर हामीले सबै आदिवासी समूदायलाई एकतावद्ध गर्न सक्नु पर्दछ । मेरो अध्ययनले क्षेत्रीहरु आदिवासी नै हुन् भनेर महशुस गर्छ । पहिचानको मुद्दालाई हामीले कहिल्यै पनि छोडनु हुँदैन । हाम्रा कतिपय मुद्दाहरु संविधान सम्बोधन हुने क्रममा छन । त्यसका लागि हामीले संविधान संशोधनका लागि कोसिसहरु गर्नेनै छौं ।’

उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको एकता टुट्यो भने उनीहरुले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने तर्क गर्नु भयो । उहाँले नेपाल मगर संघले आदिवासी जनजाति योद्धाहरुको योगदानको स्मरण गर्दै अघि बढ्नुपर्ने बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया