माओवादी धारका नेताहरुले शान्ति सम्झौता र परिवर्तन विरुद्ध हुने गतिविधिको एकमतले प्रतिवाद गर्ने

 फागुन २३, २०७९ मंगलबार ११:२८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तत्कालीन माओवादीसँग आबद्ध नेताहरुले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत् अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तत्कालीन माओवादीसँग जोडिएका आठ दलको बैठकले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिको एकमतले प्रतिवाद गर्ने प्रण गरेको पनि निकालेको विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दाले सशङ्कित बनेका माओवादी धारका नेताको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गो लगाउन आवश्यक कानुनी एवम् संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न संयुक्त बैठकले सरकारसमक्ष मागसमेत गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले केही समयअघि एक सार्वजनिक कार्यक्रममा सशस्त्र युद्धमा मारिएकामध्ये पाँच हजार जनाको आफूले जिम्मा लिने भनेर दिएको अभिव्यक्तिअनुसार फौजदारी अभियोगको मुद्दा दायर गर्न सर्वोच्च अदालतले आदेश दिएपछि उनीहरुको बैठक बसेको हो ।

बालुवाटार बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायतका नेता सहभागी हुुनुहुन्थ्यो। 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया