दिनेश मलेसियामा हराएपछि घर न माइतकी भइन् सुनैना

 असोज २८, २०७५ आइतबार १८:१६:३ | दुर्गाप्रसाद भट्टराई

दुर्गाप्रसाद भट्टराई/सर्लाही ।

सर्लाही – महोत्तरी रौजा नगरपालिका ४ का दिनेश राउत मलेसिया गएको ८ वर्ष भयो । दिनेश राउत मलेसियाबाट नफर्किएपछि परिवारका खुशी पनि दिनेशसँगै हराएका छन् । 

‘पीर नगर्नु छोराको हेरविचार गर्नु भन्नुभएको थियो, तर उहाँ नै हराएपछि कसरी पीर नगर्नु,’ श्रीमती सुनैनादेवीले दुखेसो पोख्नुभयो ।

बिरामी छोराको उपचार खर्च जुटाउनकै लागि मलेसियाका गएका दिनेश किन परिवारिक सम्पर्कबाट टाढा भए सुनैनालाई थाहा छैन । 

कमाएर खर्च पठाउँछु भनेका श्रीमानले सञ्चो बिसञ्चोको खबर समेत नगरेपछि उहाँलाई आपत आइलागेको छ । 

सुनैना र चार वर्षका छोरालाई बुवाआमाको जिम्मा लगाएर हिँडेका दिनेश मलेसियामै हराएपछि सासुससुराले उहाँलाई घरबाट निकालिदिएका छन् ।

माइतीको शरणमा पुगेकी सुनैनालाई श्रीमान जसरी पनि खोज्नु छ । तर कसरी ? उहाँले मेसो पाउनुभएको छैन । 

२०६७ सालमा दिनेश मलेसिया जानुभएको हो । दुईलाख रुपैयाँ तिरेर मलेसिया उडेका दिनेशले श्रीमतीलाई कमाएर पठाउने विश्वास दिलाउनुभएको थियो । 

 

श्रीमानले जाने बेलामा भनेझैं सुनैनाले पनि घरमा काम गरिरहनुभएको थियो । तर मलेसिया पुगेपछि श्रीमानको बोली फेरियो । अनि घरमा पनि सासुससुराको व्यवहार फेरियो । 

‘पहिला माया गर्ने सासुससुराले गाली गर्न थाले, तेरो छोरा अपङ्ग छ, तेरो बुढो हराइहाल्यो, हामी पाल्न सक्दैनौं, हाम्रो घर छाडेर जाउ भन्न थाले, अनि माइत आएँ,’ सुनैनाले गुनासो पोख्नुभयो, ‘मेरो विवाह दर्ता र नागरिकता पनि सासुससुराले नै खोसेर राखिदिए ।’ 

हिँड्न नसक्ने छोरो लिएर कहाँ जाने ?

दुई वर्ष भयो सुनैनालाई घरबाट निकालिदिएको । छोरा हिँडडुल गर्न सक्दैनन् । ‘हातमा सीप छैन, यो छोरो लिएर कहाँ जानु,?’ सुनैना भन्नुहुन्छ । माइतीमा पनि पहिलेजस्तो मायाको वातावरण छैन सुनैनालाई । 

धनुषा मुखियापटी हो, उहाँको माइती । दाइ विदेश गएका छन् । बुवाआमा बुढा छन् । सुनैनालाई साथ दिन बुवाआमालाई पनि सजिलो छैन । 

‘छोरीलाई पाल्ने भए मेरो बुढीलाई जनकपुरमा डेरा खोजेर राख्छु भन्छ छोरो,’ सुनैनाका बुवा सोभारथ राउत दुखेसो पोख्नुहुन्छ । दुःखमा परेकी छोरीको साथ दिनु कि छोराको कुरा सुन्नु सोभारथलाई दोमन भएको छ ।

ज्वाई नफर्किंदासम्म जसरी पनि छोरी र नातीको ख्याल राख्नुपर्ने बाध्यता छ सोभारथलाई । भन्नुहुन्छ, ‘जसरी पनि मेरो दामाद खोजिदिनु प¥यो, नत्र त मेरो छोरी र नातिनीको बिजोग भैहाल्नेभयो ।’

मलेसिया पुगेको ८ वर्ष बित्दा पनि कुनै खबर नआउँदा सुनैनाको धैर्यताको बाँध टुटिसक्यो । तर श्रीमान् एक दिन फर्किएलान् भन्ने आश चाहिँ टुटेको छैन । ‘मलेसियामै घरजम गरेर बस्छ पनि भनेको सुनेको खै, आफ्नो मान्छे त के ओ के ?’ सुनैना श्रीमानलाई जसरी पनि घर फर्कन आग्रह गर्नुहुन्छ ।

अन्तिम अपडेट: असार ११, २०७७

दुर्गाप्रसाद भट्टराई

भट्टराई ग्रामिण नारी उत्थान संघ हरिपुर सर्लाहीको सहजीकरणमा हरिऔनमा सञ्चालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा मनोसामाजिक परामर्शकर्ताका रुपमा कार्यरत हुनुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया