हामी खुसी हुँदैमा नागरिक खुसी हुन्छन् भन्ने भ्रम नपाल्नुस् : गगन थापा

‘म मन्त्री बन्दिनँ, बन्न मिल्दैन’

 फागुन २८, २०७९ आइतबार १५:५९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताउनुभएको छ ।

आइतवार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताउनुभयो । उहाँले आफू सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलताको मापन नगर्ने भन्दै सरकारबाट कति परिणाम निस्कियो भन्ने आधारमा सरकारको काम हेर्ने बताउनुभयो । सरकारले परिणाम दिन सकेन भने पाँच वर्ष खेर जाने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मैले पाँच वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो । मैले यो सबै कामहरू नेपाली कांग्रेसको महामन्त्री भएर गर्ने हो । मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसदमा उठाउनुपर्ने कुराहरू उठाउँछु । म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु । मैले अहिले कांग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो ।’

महामन्त्री थापाले राजनीतिक दलहरू खुसी हुँदैमा नागरिक खुसी हुन्छन् भन्ने भ्रम नपाल्न पनि आग्रह गर्नुभयो । उहाँले सरकार बन्ने कुरा प्राथमिकतामा नराखी सरकारले नागरिकलाई परिणाम दिन सक्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले एउटा भ्रम राखेका छौँ कि जस्तो लागेको छ । हामी खुसी हुँदा कता कता देश नै खुसी भयो भन्ने भ्रम पो राखेका छौँ कि ? हामी खुसी हुनासाथ देशभरका सबै नागरिक आफैँ खुसी हुन्छन् भन्ने छ । हामीलाई मतदान गरेका पनि अटोमेटिकल्ली खुसी हुन्छन् कि भन्ने पनि मलाई लाग्दैन । हामीले खुसी बनाउन सक्छौँ कि सक्दैनौँ भन्नेसँग जोडिएको छ । किनकि सरकार बन्ने कुरा त पहिला पनि थियो । अहिलेको गठबन्धनको सरकार भन्ने हो भने त चुनावअघि पनि यही थियो ।’

महामन्त्री थापाले सरकारसँग पाँच वर्षमा नागरिककाे भरोसा रहन्छ कि रहँदैन भन्ने सोचेर काम गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री गठबन्धनको नेता नभई सरकारको नेता हुन सक्नुपर्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया