कांग्रेस भित्रैबाट बीपीमाथि अन्याय भइरहेकाे छ : गगन थापा

 फागुन ३०, २०७९ मंगलबार १८:२५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विश्वेश्वर (बीपी) कोइरालामाथि अन्याय भइरहेको टिप्पणी गर्नुभएको छ । आजको समस्या समाधान गर्न पनि बीपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु बीपीमाथि नै कांग्रेसले अन्याय गर्नु रहेको उहाँको तर्क थियो ।

मङ्गलवारदेखि काठमाण्डाैमा सुरु भएकाे नेपाल ट्रेड युनियन कांग्रेसको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीहरूले काम नपाउने चुनौती आज रहेको र त्यसको समाधान बीपी कोइरालाको भनाइलाई खोजेर गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले हाम्रो भागको समस्याको समाधान हामी आफैँले गर्नुपर्ने भन्दै त्यसमा लाग्न पनि ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरूलाई सचेत गराउनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘रोजगारी सिर्जना हुन्छ तर नेपालीले त्यसमा काम पाउँदैनन् । आज के, कति कारणले नेपाली कामदारहरू काम लागिरहेका छैनन् ? सानो गार्मेन्ट खोल्ने मान्छेलाई हामीले कुरा गर्न गयो भने के, कति कारणले गर्दा होला उसले पनि नियतवश नेपालीलाई कामै दिन्न भनेको त होइन होला । तर के, कति कारणले नेपाली कामदारहरू काम लागिरहेका छैनन् ? आजको चुनाैती यस्तो आएको छ । यस्तो बेलामा पनि हामीले पुरानो बीपी कोइरालाले यसको बारेमा केही बोलिदिनुभएको थियो कि, भनिदिनुभएको थियो कि भनेर त्यहाँ खोज्न जानु भनेको त बीपीमाथि अन्याय गर्नु हो नि त । त्यो भन्नुभएको रहेनछ भन्नु भनेको त अन्याय गर्नु हो नि । हाम्रो भागको समस्याको समाधान पनि उहाँले गर्नुपर्ने कि हामीले गर्नुपर्ने ?’

महामन्त्री थापाले बीपी कोइराला कांग्रेसका लागि मूल विचारधाराको स्रोत भए पनि आजको चुनौती आफूहरूले समाधान गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको पनि बताउनुभयो । त्यसका लागि आफूले केही वैचारिक छलफल चलाउन खोजेको तर त्यसमा पार्टी भित्रैबाट साथ नपाएको महामन्त्री थापाको गुनासो थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया