जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न विप्लवको चेतावनी

 चैत १, २०७९ बुधबार १८:४९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिनुभएको छ । माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरूले आफ्नो जीवनको र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको ख्याल गर्नुपर्ने महासचिव विप्लवको धम्की मिश्रित प्रतिक्रिया थियो ।

बुधवार काठमाण्डाैमा आयोजित नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी) बीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले नागरिकले लडेको त्यो युद्धलाई अपराधीकरण गर्ने काम सम्भव नभएको पनि पटक–पटक दोहोर्‍याउनुभयो । जनयुद्धलाई अपराधीकरण गर्ने खालका गतिविधिमा संलग्नहरूलाई छुट दिन नसकिने महासचिव विप्लवको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘जसले फासीवादको विरुद्ध लडे, ऊ नै अपराधी हुनुपर्ने हो र ? २००७ सालमा क्रान्ति गर्ने मान्छे अपराधी हुनुपर्ने हो र ? जनयुद्धमात्रै अपवाद हो, जाे नागरिकले लडेको युद्ध हो । तर त्यो युद्धलाई पनि अपवादको रूपमा अपराधीकरण गर्न खोजिँदैछ । तर त्याे युद्ध लडेको मान्छे अपराधीकरण गरिँदैछ यहाँ । यसलाई कुनै पनि हालतमा छुट दिन सकिँदैन ।’

महासचिव विप्लवले दलाल, पुँजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्न नेपालमा कम्युनिस्ट पार्टीहरूबीचको एकता प्रक्रियालाई सुरु गरेको बताउनुभयो । नेपाललाई स्वाधीन बनाउने मूल उद्देश्यअन्तर्गत आफूहरूले नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने अभियान सुरु गरेको उहाँले दाबी गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया