उपराष्ट्रपतिको चुनाव आज : बेलुका नै मत परिणाम आइसक्ने

 चैत ३, २०७९ शुक्रबार ७:१०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संसद् भवनको लोत्से हलमा मतदान हुनेछ । उपराष्ट्रपतिका पदका लागि तीन जना प्रतिस्पर्धामा हुनुहुन्छ ।

सत्तागठबन्धनबाट जनता समाजवादी पार्टी जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका ममता झाबीच प्रतिस्पर्धा हुनेछ । जसपाकै उम्मेदवार प्रमिलाकुमारीले उम्मेदवारी निष्क्रिय पार्नुभएको छ । मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।

मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ ।  उपराष्ट्रपति चुनावमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेश सभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ ।

मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाएर मतसङ्केत गर्नुपर्नेछ । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम रहेको छ । सङ्घीय संसद्का तीन सय ३२ र प्रदेश सभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् ।

समग्र मतभार ५२ हजार ६ सय २८ रहेको छ । उम्मेदवार निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा धेरै प्राप्त गर्नुपर्छ । निर्वाचित हुन २६ हजार ३ सय १५ मत कटाउनुपर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आठदलीय गठबन्धनमा ३२ हजार २ सय ६७ मत छ । एमालेकी शाक्यसँग १५ हजार ३ सय ९१ मत छ ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र बेलुकासम्म मत परिणाम आइसक्ने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो । राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ ।

उपराष्ट्रपति मर्यादाका हिसाबले दोस्रो माथिल्लो पद हो । उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ । उपराष्ट्रपति पदका लागि याे तेस्रो चुनाव हुन लागेको हो । उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आज सकिँदैछ । उहाँ हिजो नै निजी निवास चन्द्रागिरि नगरपालिका–१ दहचोक सर्नुभएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया