देशलाई सही बाटाेमा अघि बढाउन पत्रकारहरूकाे भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

 चैत ३, २०७९ शुक्रबार १४:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गर्नुभएको छ । शुक्रवार सिंहदरबारमा रहेकाे आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले आफूमा यस्तो मान्यता रहेको बताउनुभएको हो ।

सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरूलाई त्यसबाट मुक्त हुन पनि आग्रह गर्नुभयो । देशमा पित पत्रकारिता निकै डरलाग्दो गरी देखापरेको सभामुख घिमिरेको बुझाइ छ । उहाँले पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताउनुभयो ।

सभामुख घिमिरेले सरकार र पत्रकारहरूबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताउनुभयो । उहाँले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरूले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘पत्रकारहरूले जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्दथ्यो त्याे भएकाे छैन । अन्यथा नलिनुहोला । पित पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरू । सङ्घ बिक्रीमा छ भन्यो सभामुखले भन्लान् कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन । बिग हाउसहरूले प्रभावित पारेको छ । थर्काएर गरेको छ । किनेर गरेको छ । फकाएर गरेको छ । अनेक ढङ्गबाट गरेको छ । त्यसको प्रभाव हाम्रो समाजमा निकै परेको छ ।’

सभामुख घिमिरेले कानुनको अभावमा देशमा ठगीहरू बढिरहेकाले त्यसलाई नियन्त्रण हुने गरी कानुन निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरूलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने बताउनुभयो । उहाँले कानुन निर्माणमा, राष्ट्र निर्माणमा र देशलाई सही बाटोमा अघि बढाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले पत्रकारहरूले त्यहीअनुसार सञ्चारका कामहरू गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले भने मिडियामैत्री कानुन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराउनुभएको थियो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया