बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक संसदमा पेस हुँदै

 चैत ५, २०७९ आइतबार ८:४७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रतिनिधि सभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस हुँदैछ । दिउँसो १ बजे बस्ने बैठकमा सत्ता साझेदार १० दलले विधेयक पेस गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधेयक पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,  एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायत १० दलका शीर्ष नेताहरुको बैठकले विधेयक संसद् बैठकमा पेस गर्ने र विधेयकको पक्षमा उभिने निर्णय गरेका थिए ।

मानव अधिकार आयोगले भने पर्याप्त छलफल र परामर्श नगरिकन संशोधन विधेयक ल्याएको भन्दै विरोध गरेको छ । पीडितको न्याय पाउने हकको सुनिश्चितता हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया छिटो टुङ्गोमा पुर्‍याउनु पर्नेमा आयोगको जोड छ ।

आयोगले गएको बिहीवार विज्ञप्ति  निकालेर पीडितको न्याय प्राप्त गर्ने हक कुण्ठित हुन सक्नेतर्फ सचेत हुन, विषयगत समितिहरुको तत्काल गठन गरी व्यापक छलफल गर्न, सर्वोच्च अदालतको आदेश र मानव अधिकार आयोगले विगतमा पटक पटक गरेका सिफारिस बमोजिम ऐन निर्माण गर्न र भविष्यमा द्वन्द्व नदोहोरिने प्रत्याभूति गराउने एवम् अन्तर्राष्ट्रिय मापदण्ड र मूल्य मान्यता अनुकूल हुने गरी विधेयकको संशोधन गर्न ध्यानाकर्षण गराएको थियो । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया