सरकारमा सहभागी हुने कांग्रेसकाे निर्णय, प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिने

 चैत ५, २०७९ आइतबार १२:११:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतवार आज सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्ताे निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि सरकार विस्तार हुने बताउनु भयो । उहाँले संविधानको रक्षा, संवर्द्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित कांग्रेस सरकारमा जाने निर्णय भएको बताउनु भयो ।

प्रवक्ता महतले आज बस्ने संसद् बैठकबाट कांग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने बताउनु भएकाे छ। 

प्रवक्ता महतले बैठकमा कसको निर्णयमा कांग्रेस सरकारमा सहभागी हुने भन्ने निर्णय भने नभइसकेको बताउनु भयाे । उहाँले कांग्रेसले मन्त्रीहरु सरकारमा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राखेर पठाउने बताउनु भयो ।

प्रवक्ता महतले संसदीय दलको बैठकमा सरकारले संसदमा प्रस्तुत गर्ने विधेयकका बारेमा छलफल हुने पनि बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया