‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुखको अभिव्यक्तिप्रति संसद् बैठकमा विरोध

 चैत ५, २०७९ आइतबार १४:५०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति संसद् बैठकमा विरोध भएकाे छ । गएकाे शुक्रवार सभामुख घिमिरेलाई भेट्न पुगेका नेपाल पत्रकार महासङ्घका प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै घिमिरेले पत्रकारहरू बिक्रीमा रहेका अभिव्यक्ति दिनुभएको थियो । 

आज आइतवारको संसद् बैठकमा बोल्दै सांसदहरूले सभामुखकाे त्यस अभिव्यक्तिप्रति विरोध जनाएका हुन् । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले व्यवस्थापिकाको प्रमुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको बताउनुभयो । उहाँले सभामुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको भन्दै सभामुखको त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ । व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ? त्यतातिर पनि ध्यान जाओस् ।’

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बिक्री हुने पत्रकार कुन–कुन हुन् भनेर पत्ता लगाउन सभामुखले छानबिन समिति बनाउनुपर्ने माग गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘सभामुख महोदयको अर्को एउटा आएको छ, पत्रकारहरूको बारे । अब हुन त पत्रकारहरूको बारे यहाँले अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति नै बनाउनुपर्‍याे । तर सबै पत्रकार त्यस्तो नहोला । कुन–कुन हो ? पित पत्रकारिता चलाउने । त्यो चाहिँ हामीलाई सभामुखले एउटा छानबिन समिति बनाएर जानकारी दिनुपर्‍याे ।’ 

सांसद सुवालले सभामुखबाट उठेको विषय सार्वजनिक महत्त्वको विषय भएको उल्लेख गर्दै बिक्री हुने पत्रकारहरूका बारेमा छानबिन हुनैपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया