प्रधानमन्त्री प्रचण्डले नागरिककाे विश्वास गुमाइसकेका छन् : मोहन वैद्य

 चैत ५, २०७९ आइतबार १७:१०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिककाे विश्वास गुमाइसकेको दाबी गर्नुभएको छ । राजनीतिमा विचित्रको ‘लीला’ देखाउन थालेकाले प्रधानमन्त्री प्रचण्डलाई नेपाली नागरिकले अब विश्वास गर्ने ठाउँ नरहेको उहाँको जिकिर थियो ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव वैद्यले ओलीलाई खत्तम पार्छु भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री प्रचण्डले नागरिकले केही हुन्छ कि भनेर गरेकाे विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाउनुभयो । उहाँले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरू ‘मरेको लाश’ जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नागरिकमा केही हुन्छ कि भन्ने विश्वास पनि पूरै ध्वस्त भएको छ । भोट कसलाई दिने ल भन्नुस् त ? एउटा पार्टीलाई दिने हो । यो गर्छु, यो गर्छु भन्ने त चाहियो । वाचा बन्धन गर्नु पर्‍याे । चुनावमा जाने बेलामा गठबन्धन बनाए । प्रतिगमनका विरुद्ध जाने हो, संविधानको रक्षा गर्ने हो, ओलीले खत्तम पारे भनेर कांग्रेस–माओवादी केन्द्रहरू एकदम कुर्लिएर गए हेर्नुस् । अब सरकार बनाउने बेलामा त छैन । सरकार बनाउने बेलामा त जसका विरुद्ध गएका थिए, त्यसैसँग शरण परेर सरकार बनाउने ल हेर्नुस् अब । यहाँभन्दा विचित्र के हुन्छ ? त्यो सरकार त टिकाउनुपर्ने हो नि त फेरि एमालेसँग बसेर । त्यो पनि टिकाउन नसकेर फेरि फर्केर कांग्रेसतिर । राजनीतिक विचित्रता भन्ने कि के भन्ने यो ? राजनीतिमा लीला भइसक्यो भन्नुस् । यस्तो चालले अब चल्नेवाला छैन । नागरिले विश्वास पनि अब गर्नेवाला छैनन् ।’

महासचिव वैद्यले वर्तमान राज्यसत्ता सञ्चालनका लागि कांग्रेस असफल भइसकेको र कम्युनिस्ट नेताहरूलाई पनि नागरिकले विश्वास गर्ने अवस्था नरहेकाले नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको जिकिर गर्नुभयाे । उहाँले देशमा आर्थिक सङ्कट चुलिएको र त्यसलाई टालटुल पारेर अघि बढ्ने अवस्था नरहेको समेत बताउनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया