सभामुखले पत्रकारकाे बारेमा गरेकाे टिप्पणीप्रति आत्मालाेचना गर्नुपर्छ : महामन्त्री शर्मा

 चैत ५, २०७९ आइतबार १९:४०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरूमाथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्ने बताउनुभएको छ ।

आइतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरूको बारेमा गरेको टिप्पणीप्रति आफूहरूको विमति रहेको बताउनुभयो । सभामुखले पत्रकारहरूका विषयमा गरेको टिप्पणी समाजको अघि गम्भीर 'नोटिस' मा रहेको उहाँले बताउनुभयो । राज्यको चौथो अङ्गको रूपमा रहेको पत्रकारिता क्षेत्र देशमा लोकतान्त्रिक रूपान्तरणका लागि आफैँ संलग्न भएको भन्दै त्यस क्षेत्रप्रतिको टिप्पणी आलोच्य भएको महामन्त्री शर्माकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘ सभामुखले पत्रकारहरूकाे विषयमा बाेलेकाे कुरा वास्तवमै गम्भीर छ । किनभने व्यक्तिको रूपमा विश्वप्रकाशले के सोच्दछ, के बोल्दछ उसको कुरा हो । तर पार्टीको महामन्त्रीको रूपमा या सांसदको रूपमा विश्वप्रकाश शर्माले बोल्ने, सोच्ने, गर्ने व्यवहारको केही मर्यादाहरू हुन्छन् । झापा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको नेकपा एमालेका सांसदका रूपमा देवराज घिमिरेले के बोल्नुहुन्छ, त्यो उहाँको कुरा हो । तर देशको सभामुखले देशको चौथो अङ्गको सन्दर्भमा बोल्नुभन्दा अगाडि सोच्नु पनि हजार पटक पर्छ । उहाँले जे बोल्नुभएको छ, त्यो विषय गम्भीर नोटिसमा समाजको सामुन्ने छ । त्यसप्रति हामी सबैको विमति छ । कुनै व्यक्तिको बारेमा कहीँ कतै टिप्पणी छ भने पनि त्यसलाई अलगरूपमा राख्ने एउटा विषय हो । तर समग्रमा पत्रकारहरूको बारेमा, चौथो अङ्गको बारेमा जे टिप्पणी आएको छ, त्यो अत्यन्त आलोच्य छ । उहाँले आत्मालोचना गर्नुपर्छ ।’

 महामन्त्री शर्माले सञ्चारकर्मीहरूसँगकाे कुराकानीकै क्रममा वर्तमान सत्तारूढ गठबन्धन पाँचै वर्ष जाने दाबी पनि गर्नुभयाे ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया