याे गठबन्धन ५ वर्ष नै टिक्छ : माधव नेपाल

 चैत ६, २०७९ सोमबार १५:५६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गर्नुभएको छ ।

आज सोमवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै अध्यक्ष नेपालले अहिलेको गठबन्धन आउँदाे पाँच वर्ष नै टिकेर देश विकास गर्ने र देशलाई समृद्धिको विकासतर्फ अग्रसर बनाउने बताउनुभयो । उहाँले वैशाखमा विश्वासको मत फेरि लिनुपर्ने होइन भन्ने प्रश्न उठिरहेको भन्दै त्यो प्रश्न गर्नु अस्वाभविक नरहेको बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘फेरि वैशाखको अर्को हप्ता विश्वासको मत लिनुपर्ने त होइन भन्ने कुरा उठेको छ । यो आशङ्का गर्नु अस्वाभाविक होइन तर त्यो अवस्था आउँदैन । यो गठबन्धन पाँच वर्ष नै टिक्छ, राज्यका सबै समस्याहरूको समाधान गरेर अघि बढ्छ । नेपालको राजनीतिक यात्रा कस्तो हुन्छ भन्ने हेक्का मलाई पनि छ । हाम्रो घटकहरूसँगको सहकार्यलाई हेर्दा यो टिकाउ हुन्छ भन्ने विश्वास छ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया