चुनौती सामना गर्दै सफल भइन्छ : कप्तान चेम्जोङ

 चैत ७, २०७९ मंगलबार १६:५६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवम् गाेलकीपर किरण चेम्जोङले छोटो समयको तयारी चुनौतीपूर्ण भएको र त्यसलाई स्वीकार गरेर घरेलु मैदानमा आयोजना हुन लागेको प्रधानमन्त्री कप 'थ्री नेसन्स कप' फुटबल प्रतियोगिता खेल्ने बताएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लेङ्मंगलवार आयोजना गरेको खेलअघिको पत्रकार सम्मेलनमा कप्तान चेम्जाेङले तयारीका लागि छोटो समय भएको र चुनौतीपूर्ण रहेको बताएका हुन् । उनले भर्खरै घोषणा भएको टोलीमा खेलाडी सबै फिट रहेका र बुधवार लाओससँग हुने खेलका लागि टोली तयार भएको प्रतिक्रिया दिए । कप्तान चेम्जाेङले प्रशिक्षक र टिम नयाँ भएको भए पनि एकअर्कालाई विश्वास गरेर अगाडि बढ्ने बताए ।

यस्तै यसै प्रतियोगिताबाट डेब्यु गर्न लागेका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफूले राम्रो टोली बनाएकाे बताए । तीन दिनको तयारी गर्दा टोलीमा धेरैजसाे युवा खेलाडी समेटिएको उनकाे भनाइ छ । लिगको क्रममा खेलाडीको प्रदर्शनलाई हेर्दै टोली बनाएकाे र यो टोलीले राम्रो नतिजा दिने उनकाे विश्वास छ । मुख्य प्रशिक्षक एनिसले विपक्षी टिमको गुण आफूले देखेको र आफ्नो टिमको गुणसमेत जानकारी भएको बताउँदै सुखद नतिजाका लागि खेल्ने बताए ।

यस्तै लाओसका प्रशिक्षक माइकल वेसले लिग चलिरहेको क्रममा टिम बनाएर प्रतियोगिताका लागि आएको भन्दै घरेली टोलीसँग राम्रो खेल्ने बताए । उनले भविष्यका लागि टिम बनाइरहेको भन्दै अहिलेलाई लिगले गर्दा तयारी अपेक्षाअनुसारको गर्न नसकेको बताए । तर नेपालसँगकाे खेलमा प्रतिस्पर्धात्मक खेल्ने उनकाे भनाइ छ ।

लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले प्रतियोगिताका लागि पहिलो पटक नेपाल आउँदा खुसी लागेको भन्दै प्रतियोगिताका लागि उत्साहित रहेको बताए । उनले प्रतियोगितामा लाओसको फुटबल देखाउने बताए ।

यस्तै पछिल्लो संस्करणको एसियाली खेलकुदपछि पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमण गरेको भुटानका प्रशिक्षक पेमाले टोलीले प्रतियोगिताको तयारी राम्रो गरेको बताए । दुई महिनादेखि युवा खेलाडीलाई समेट्दै उपाधि उचाल्ने रणनीतिका साथ तयारी गरेको उनकाे भनाइ छ । युवा खेलाडी समेटिएको भन्दै टोली सबै हिसाबले सक्षम भएको र शतप्रतिशत दिएर खेल्ने उनले बताए ।

भुटानका कप्तान चेन्चो ग्याल्सेनले नेपालमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आफू उत्साहित रहेको प्रतिक्रिया दिए । पछिल्लो पटक दक्षिण एसियाली खेलकुदमा नेपाली दर्शकले दिएको साथमा आफू खुसी भएको र यहाँ हुन लागेको प्रतियोगिताका लागि उत्साहित रहेको उनले बताए । 

नेपालले बुधवार लाओससँग खेल्दै प्रतियाेगिता सुरु हुनेछ । यस्तै चैत ११ गते भुटान र लाओस खेल्नेछन् भने त्यस्तै चैत १४ गते नेपाल र भुटानबीच लिगको अन्तिम खेल हुनेछ । लिगका खेल बेलुकी ६ बजे सुरु हुनेछ । फाइनल खेल चैत १७ गते बेलुकी साढे ५ बजे सुरु हुनेछ । फिफा विन्डो अन्तर्गत आयोजना हुने लागेको प्रतियोगिता सिङ्गल राउन्ड रोबिनको आधारमा हुनेछ । जसअन्तर्गत शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले ५ हजार डलर पुरस्कार पाउनेछ ।

प्रतियोगितामा एन्फाले साधारण र भीआईपी प्यारापिटतर्फ दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ पाँच सय र भीभीआईपीतर्फ एक हजार रुपैयाँ टिकट दर राखिएको एन्फाले जनाएको छ । यसअघि नेपालले २०७७ सालमा बङ्गलादेश र किर्गिस्तानलाई समेट्दै थ्री नेसन्स कपको आयोजना गरेको थियो । फाइनलमा बङ्गलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया