शान्ति प्रक्रियालाई टुङ्गाेमा पुर्‍याउने कामबाट भाग्ने छुट छैन : गगन थापा

 चैत ७, २०७९ मंगलबार १७:३३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दा छिटो टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभएको छ । महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभएको हो ।

मङ्गलवार काठमाण्डाैमा आयोजित 'नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान' विषयक विचार गोष्ठीमा बोल्दै उहाँले शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्‍याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिनुभयो । महामन्त्री थापाले तत्कालको नाफाघाटाभन्दा बाहिर निस्केर शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउन सबै राजनीतिक दललाई आग्रहसमेत गर्नुभयो । शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पुर्‍याउने र अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरीत जान नहुने उहाँको भनाइ थियो ।

महामन्त्री थापाले राजनीतिक दलहरूलाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुङ्गोमा पुर्‍याउने कामबाट भाग्ने छुट नभएको पनि पटक–पटक दोहोर्‍याउनुभयो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने कामको नेतृत्व कांग्रेसले नै लिनुपर्ने पनि उहाँले बताउनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउने मुख्य जिम्मेवारी हाम्रो हो । हामी सबैले दलीय सङ्र्कीणता वा तत्कालको नाफाघाटाभन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्दछ । हामीसँग अब समयको सुविधा छैन । हामीले यसलाई यो वा त्यो बहानामा लम्ब्यायौँ भने अझ जटिल बन्दै जान्छ । सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्ग्याउँदै गर्दा हामीले द्वन्द्वबाट पीडित भएकाहरूको भावनालाई सम्मान गर्न सकेनौँ, टुङ्ग्याउनुपर्छ भन्ने नाममा जबरजस्ती उनीहरूले भारी बोक्नैपर्छ भन्नेतिर लाग्यौँ भने पनि हामी अप्ठेराेमै पर्छाैँ । हामीले यसमा पनि ध्यान दिनुपर्नेछ ।’

कार्यक्रममा बाेल्दै महामन्त्री थापाले तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले लिएको आर्थिक नीतिकै कारण देश आजसम्म टिकेको दाबीसमेत गर्नुभयो । उहाँले कोइरालाले लिएको आर्थिक नीतिबाटै देश टिके पनि उहाँमाथि त्यसको जस नदिएर अन्याय गरेको उहाँको बुझाइ थियो । महामन्त्री थापाले नागरिकलाई आशावादी बनाउने गरी काम गर्न सरकारलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीतिलाई अन्डरस्टिमेट गर्ने गरेका छौँ । यो उहाँमाथिको अन्याय हो । आज नेपालको इकोनोमी केही कारणले टिकेको छ भने त्यो २०४८ सालदेखि २०५१ साल त्यही तीन वर्षको गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले लिएको आर्थिक नीति, निर्णयको प्रभावले हाे ।’

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया