प्रशिक्षक उत्पादन गर्दै माओवादी केन्द्र

 चैत ८, २०७९ बुधबार १८:१८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ । 

माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलवार (हिजो) देखि 'केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम' चलिरहेको छ । यस कार्यक्रममार्फत जिल्ला–जिल्लामा पार्टीको प्रशिक्षक उत्पादन गर्न लागिएको जनाइएको छ । प्रशिक्षण कार्यक्रममा प्रत्येक जिल्लाबाट एक जना, प्रत्येक प्रदेशबाट दुई/दुई जना, जनवर्गीय सङ्गठनका केन्द्रीय अध्यक्ष र केन्द्रीय स्कुल विभागका सदस्यहरूको उपस्थिति रहेको छ । ११ गतेसम्म चल्ने प्रशिक्षणमा माओवादी केन्द्रका शीर्ष नेता तथा विषयविज्ञहरूले प्रशिक्षण दिने पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । स्कुल विभागले तय गरे अनुरूपको पाठ्यक्रममा आधारित भएर २६ वटा कक्षा प्रशिक्षार्थीहरूलाई दिइने उहाँले बताउनुभयो । 

उपमहासचिव एवम् केन्द्रीय स्कुल विभागका संयोजक पोखरेलले पार्टीको विचारधारात्मक स्तर निकै कमजोर हुँदै गएकोले यस किसिमको प्रशिक्षण आवश्यक परेको बताउनुभयो । उहाँले प्रशिक्षणबाट आलोचनात्मक चेत भएको मान्छे उत्पादन गर्ने, कार्यकर्ताहरूलाई जनसमुदायसँग गाँसिएको सेवक बनाउन खोजिएको बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कुमार पौडेलले पार्टी नेता, कार्यकर्ताहरूलाई वैचारिकरूपमा अध्ययन गराउन प्रशिक्षणको जरुरी परेको बताउनुभयो । उहाँले पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, मार्क्सवाद, लेनिनवाद र माओवादका आधारभूत सिद्धान्तहरू नागरिक र कार्यकर्ताहरूमा एकरूपताका साथ लैजान प्रशिक्षण चाहिने उल्लेख गर्नुभयो । 

केन्द्रीय सदस्य एवम् स्कुल विभागका सचिव रामदीप आचार्यले प्रशिक्षणमा सरकार सञ्चालन, बजेट निर्माण र जनसहभागिताको विषयमा छलफल गरिने बताउनुभयो । त्यस्तै विज्ञान र प्रविधिलाई बुझ्ने र त्यसको प्रयोग गर्ने सन्दर्भमा पनि छलफल हुने उहाँको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र) बाग्मती प्रदेश समिति सदस्य विदुर खड्काले युवाहरूलाई नेतृत्व तहसम्म पुर्‍याउनका लागि पनि यस्ता किसिमका वैचारिक प्रशिक्षणहरू आवश्यक पर्ने बताउनुहुन्छ । माओवादी केन्द्रले केन्द्रीय समितिमा २० प्रतिशत युवाहरूलाई सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले माथिल्लो समितिहरूमा पनि युवाहरूलाई भूमिका दिन पार्टीले कोसिस गरिरहेको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया