स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीकाे घाेषणा

 चैत ९, २०७९ बिहिबार १३:२३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । बिहीवार आज सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे घोषणा गर्नुभएकाे हाे । 

उहाँले सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना एवम् हुलदङ्गा एवम् आतङ्कको बीमा साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वको लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताउनु भयो ।

उहाँले आम सञ्चारमाध्यमलाई सम्बन्धित भूगोलमा बसोबास गर्ने जनसङ्ख्याप्रति लक्षित गरी राष्ट्रिय, प्रादेशिक वा स्थानीय गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चारमाध्यम तथा स्वरोजगार साना, मझौला र ठूला लगानीका आधारमा वर्गीकरण गरी सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुको सिप तथा दक्षता अभिवृद्धि र अध्यावधिक गर्न एवम् उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न सङ्घ र प्रदेश तहमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

उहाँले वर्तमान सरकार सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धनकाे नीति लिँदै आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी, लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न प्रतिबद्ध रहेको जिकिर गर्नुभयो । उहाँले प्रेस सम्बन्धी आवश्यक कानुनहरुको निर्माण र अधिकार प्रत्यायोजनको व्यवस्थित प्रारुप तयार गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक लिँदै नीतिगत र कानुनी रुपमा देखिएका समस्या र उल्झनहरु सुल्झाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानले रेडियो सञ्चालक एवम् नियमनको जिम्मेवारी तहगत रुपमा सङ्घ, प्रदेश र पालिकालाई प्रत्यायोजित गरेको भए पनि संविधानमा व्यवस्था गरिएका एकल र साझा अधिकार सूचिको प्रभावकारी कार्यान्वयनका निम्ति नीतिगत र कानुनी प्रावधानहरु पर्याप्त नभएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सञ्चारकर्मीहरुको सिप तथा दक्षता अभिवृद्धि र अध्यावधिक गर्न एवम् उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न सङ्घ र प्रदेश तहमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउँछु । पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूति सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना एवम् हुलदङ्गा एवम् आतङ्कको बीमा साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वको लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गरिनेछ ।’

प्रधानमन्त्री प्रचण्डले प्रेस स्वतन्त्रता र सवलीकरणको सवालमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाउनु भयो । उहाँले आफ्नो तेस्रो पटकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा वाक र प्रेस स्वतन्त्रतासँग सम्बन्धित केही विषयहरु थोरै विवादमा आउन थालेपछि आफूले प्रेस स्वतन्त्रताका पक्षमा पहल अघि बढाएको बताउनु भयो । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया