पुरानाे संसद् भवन नभत्काउन संसदीय समितिको निर्देशन

 चैत ९, २०७९ बिहिबार १८:२७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – संसदीय समितिले सिंहदरबारमा रहेकाे पुरानो संसद् भवनलाई नभत्काई 'रेट्रोफिट' गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ । 

बिहीवार राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले सिंहदरबारमा रहेको पुरानो संसद् भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको हो । वि.सं. २०१६ सालमा निर्माण भएको याे संसद् भवन २०७२ सालकाे भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेको थियो । समितिले याे भवनकाे पुनर्निर्माण नगरि पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गरेर मर्मत गर्नका लागि सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति मायाप्रसाद शर्माले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सिंहदरबारभित्र रहेकाे पुरानो संसद् भवन भूकम्पका कारणले केही क्षति भएको छ । यसलाई पुनर्निमाण नगरि रेट्रोफिट गरेर भवनलाई बचाउनका निमित्त सबैसँग छलफल गरिराखेका छौँ । यो समितिले सहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवज्यूहरूलाई बोलाएर भवनकाे रेट्राेफिट गर्न निर्देशन दिएकाे छ ।’

त्यस्तै समितिले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवन परिसरमा बन्दै गरेको पुस्तकालय भवन निर्माणका क्रममा रहेकाले भवन निर्माणमा नमिलेका कतिपय कुराहरूलाई परिमार्जन गर्न पनि निर्देशन दिएको सभापति शर्माले बताउनुभयो । 

बैठकमा उपस्थित राष्ट्रिय सभा सदस्यहरूले पुस्तकालयलगायत सङ्घीय संसद्का भवनहरू समयमै र गुणस्तरीयरूपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया