मिटरब्याजी पीडितलाई घर फर्किन सरकारकाे आग्रह, कानुन नबन्दासम्म नफर्किने पीडितको अडान

 चैत १०, २०७९ शुक्रबार १२:५५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको बर्दिवासदेखि काठमाण्डौसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभएकाे उहाँका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको  निर्देशन अनुसार मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गर्नु भएको छ । उहाँले सरकार कानुन बनाउने काममा लागेको र मिटरब्याजीविरुद्ध मुद्दासमेत चलाइरहेको भन्दै घर फर्किन आग्रह गर्नुभयो । उहाँले    घर फर्किन आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

पाण्डेसँगको छलफलमा पीडित किसानले आफूहरु एउटा अभियानमा भएको र कानुन नबन्दासम्म नफर्कने अडान लिएका छन् । प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले पीडित किसानको समस्या समाधान गर्न गृहमन्त्रालयले मस्यौदा बनाएर कानुन मन्त्रालयमा पठाइसकेको दाबी गर्नुभयो ।

सरकारले ३ सय ५० मिटरब्याजीलाई कारबाही गरिसकेको उहाँको दाबी छ ।  आज बस्ने मन्त्रिपरिषद् बैठकमा कानुनलाई प्रस्तावको रुपमा ल्याउन भनिएको र चाँडै नै  कानुन संसदमा दर्ता हुने उहाँले बताउनुभयो। 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया