दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

 चैत ११, २०७९ शनिबार १४:३८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गर्नु भएको छ । 

मन्त्रालय बाँडफाँटको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री श्रेष्ठले यस्ताे दाबी गर्नु भएको हो ।

शनिवार आज ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले देशकाे अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताउनु भयाे । उहाँले समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले देशको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरुसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिनु भयो ।

उहाँले भन्नु भयो, ‘देशको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन । गम्भीर नै छ । तर हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ । एक/दुई भित्रै मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउँछ । त्यसपछाडि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरु पनि गरेर एउटा दिशामा प्रभावकारी ढङ्गले कदम चाल्ने गरी अगाडि बढ्नेछौँ ।’

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया