युवा र खेलाडीलाई सबैभन्दा बढी महत्त्व दिएको छु :  प्रधानमन्त्री प्रचण्ड

 चैत ११, २०७९ शनिबार १५:५९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीलाई सबैभन्दा बढी महत्त्व दिएको बताउनुभएको छ ।

चितवनको भरतपुरमा नेपाल कराँते महासङ्घको सातौँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स मिट्स प्रतियोगिताका लागि आयोजित समारोहलाई प्रधानमन्त्री निवास बालुवाटारबाट आज भर्चुअल सम्बोधन गर्दै उहाँले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्ने गरेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्त्व दिएको छु । तीन महिनाको अवधिमा मैदानमै पुगेर खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कृत गरेको छु ।'

उहाँले खेल क्षेत्रका कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीलाई बोलाएर यसको विकास, खेलाडीको भविष्य निर्माण र भविष्यमा खेल क्षेत्रमा देशको उचाइ कसरी बढाउन सकिन्छ भन्नेबारे निरन्तर संवाद र अन्तरक्रिया गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, 'यसबाट तपाईँहरूलाई प्रष्ट हुन्छ वर्तमान सरकार र यसको नेतृत्व युवाको भविष्य निर्माणमा सबैभन्दा प्रतिबद्ध र इमानदार छ ।'

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा नेपाल कराँते महासङ्घको सातौँ प्रशिक्षक प्रशिक्षण आयोजना गरिएकामा प्रधानमन्त्री प्रचण्डले  सफलताको शुभेच्छासहित सम्पूर्ण खेलाडीको उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

विसं २०३८ सालदेखि औपचारिक रूपमा ७७ जिल्लामा नै संस्थागत संरचना निर्माण भएर लाखौैँ खेलाडी आबद्ध रहेको कराँते खेल देशका लागि मात्र नभएर अन्तर्राष्ट्रिय गौरवको विषयसमेत बनेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

अन्तर्राष्ट्रियरुपमा कीर्तिमान हासिल गर्न सफल कराँते खेलाडीको कुम्भमेलाका रूपमा यस कार्यक्रमको आयोजना हुनुले कराँतेको विकास र खेलाडीको प्रोत्साहनमा महत्त्वपूर्ण सफलता मिल्ने प्रधानमन्त्री  प्रचण्डले विश्वास व्यक्त गर्नुभयो । एक दशकदेखि तदर्थ समितिकै रूपमा कार्यसञ्चालन गर्दै आएको कराँतेको अधिवेशनको आयोजना हुनु आफैँमा गौरवको विषय भएको उहाँको भनाइ छ ।     

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया