१ खेलअघि नै बङ्गलादेशलाई टी–२० शृङ्खला, शकिबले टिम साउथीलाई पछि पारे

 चैत १५, २०७९ बुधबार १९:७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आयरल्यान्डसँगकाे टी– २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला बङ्गलादेशले जितेको छ । चट्गाउँमा आज बुधवार भएको खेलमा बङ्गलादेशले आयरल्यान्डलाई ७७ रनले हराउँदै ३ खेलको शृङ्खला १ खेलअघि नै जितेको हो ।

१७ ओभरमा २ सय ३ रन बनाउनुपर्ने लक्ष्य पाएको आयरल्यान्डले ९ विकेट गुमाएर १ सय २५ रनमात्रै बनायो । आयरल्यान्डका कर्टिस केम्फले सर्वाधिक ५० रन बनाए । बलिङतर्फ बङ्गलादेशका शकिब अल हसनले ५ र तस्किन अहमदले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले १७ ओभरमा ३ विकेट गुमाएर २ सय २ रन बनायाे । बङ्गलादेशका लागि लिटन दासले ४१ बलमा ८३ रन बनाए । यसअघि भएको एकदिवसीय शृङ्खला पनि बङ्गलादेशले नै जितेको थियो । यी दुई देशबीच एउटा टेस्ट खेल पनि हुँदैछ । 

आजकाे खेलमा ५ विकेट लिएका शकिब टी–२० क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् । उनले न्युजिल्यान्डका टिम साउथीलाई पछि पारेका हुन् । शकिबले टी–२० मा १ सय ३६ विकेट पुर्‍याएका हुन् । साउथी १ सय ३४ विकेटसहित दाेस्राे नम्बरमा छन् । अफगानिस्तानका राशिद खान १ सय २९ विकेटसहित तेस्राे नम्बरमा छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया