लाओससँग फाइनल खेल्न शारीरिक, मानसिकरूपमा तयार छौँ : कप्तान चेम्जोङ

 चैत १६, २०७९ बिहिबार १८:८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जाेङले भाेलि शुक्रवार हुन लागेको प्रधानमन्त्री कप थ्री नेसन्स कपकाे उपाधि जिते नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्न सहयोग पुग्ने बताएका छन् । 

नेपालमा भाइरहेकाे त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनलअघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कप्तान चेम्जाेङले यस्ताे बताएका हुन् । उनले लाओससँगकाे फाइनल खेलका लागि मानसिक, शारीरिकरूपमा तयार भएको प्रतिक्रिया पनि दिए । टोलीमा नयाँ खेलाडीको बाहुल्यता भएको र उनीहरूको मनोबल उच्च बनाउनका लागि पनि यो प्रतियोगिताको उपाधि निकै महत्त्वपूर्ण रहेको उनकाे भनाइ छ । नेपाली फुटबल कठिन समयबाट गुज्रिरहेको अवस्थामा समर्थकलाई खुसी दिलाउनका लागि यो प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको चेम्जाेङले बताए ।

यस्तै नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो एनिसले नेपाली टोलीमा अहिले धेरैजसाे नयाँ खेलाडी रहेका र राम्रो छवि बनाउनका लागि जित निकै आवश्यक भएको बताए । टोली मानसिक, शारीरिकरूपमा तयार रहेको भन्दै उनले शुक्रवार नेपाली टोलीले सुखद नतिजाका लागि खेल्ने बताए । प्रशिक्षक एनिसले भुटानसँगकाे खेलमा घाइते भएका अञ्जन विष्ट फाइनलमा उपलब्ध हुनेसमेत जानकारी दिए ।

भुटान नेपालसँगकाे खेलमा अन्तिम मिनेटमा बराबरीमा रोकिएपछि फाइनलमा स्थान बनाएको लाओसका प्रशिक्षक हान्स मिकेल विसले पहिलो खेलमा नेपालसँग सङ्घर्ष गरे पनि फाइनलमा राम्रो गर्नेमा विश्वस्त रहेको बताए । घरेलु टोलीसँग हुने खेल निकै प्रतिस्पर्धात्मक हुने विश्वास राख्दै उनले अहिलेको टोलीमा धेरैजसो खेलाडी यू–१९ उमेर समूहको भएका र उनीहरूले राम्रो खेल्दै घर फर्किने बताए । शुक्रवारकाे खेल लाओस फुटबलका लागि धेरै अवसर हुने भन्दै प्रशिक्षक विसले टोली कुनै पनि हालतमा जितका लागि खेल्ने बताए । 

यस्तै लाओसका कप्तान साउकाफोन भोनचेनखामले फाइनल प्रतिस्पर्धाका लागि टोली उत्साहित भएको प्रतिक्रिया दिए । पहिलो खेलमा माैसमका कारण आफ्नो टोलीले अपेक्षाअनुसार खेल्न नसकेको र केही दिनको बसाइपछि टोली अभ्यस्त भएको भन्दै उनले उपाधिका लागि खेल्ने बताए । दुवै टोली उपाधिका लागि प्रतिस्पर्धा गर्दा खेल रोमाञ्चक हुने उनले बताए ।

प्रतियोगितामा नेपालसहित भुटान र लाओसले प्रतिस्पर्धा गरेका हुन् । एन्फाले फिफा विन्डोको अवसरमा आयोजना गरेको प्रतियोगितामा नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गर्दा दोस्रो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो । यस्तै लाओसले भुटानलाई २–१ गाेलले हराएकाे थियाे ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया