मधेसबाट हिँडेर आएका मिटरब्याज पीडितलाई काठमाण्डौको चिसोले छोयो

 चैत १९, २०७९ आइतबार ८:४३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - चैतको चौथो हप्ता लागिसक्दासमेत काठमाण्डौमा बिहान बेलुका पुस–माघमा जत्तिकै चिसो छ । तराई मधेस लगायतका गर्मी ठाउँबाट काठमाण्डौ आइपुग्ने जोकोहीलाई यहाँको हावापानी मिल्दैन । त्यसमाथि ११ दिनसम्म हिँडेरै काठमाण्डौ आइपुगेका मिटरब्याज पीडितलाई काठमाण्डौको बसाइ असहज हुन थालेको छ ।

काठमाण्डौ आइपुगेको एक हप्ता भैसक्दासमेत उनीहरु अझै घर फर्कन पाएका छैनन् । सरकारसँग वार्ता मिले पनि सहमति कार्यान्वयन हुन बाँकी छ । सहमति कार्यान्वयन हुन थालेपछि मात्रै घर फर्कने उनीहरुको अडान छ । त्यतिबेलसम्म उनीहरु अनामनगरमा रहेको तमु बौद्ध सेवा समितिको हलमा बास बस्नेछन् ।

कालो म्याट बिच्छ्याइएको ठूलो हलमा अरु मिटरब्याज पीडितजस्तै गरी आराम गरिरहनु भएको छ धनुषाकी जानकीदेवी दास । ११ दिनको पैदल यात्रापछि उहाँलगायत अरु पीडितहरु अघिल्लो आइतवार काठमाण्डौको मातातीर्थ आइपुग्नुभएको हो । मातातीर्थको क्लबमा त्यसदिन बास बसेपछि भोलिपल्ट उहाँहरु खुलामञ्चतर्फ लाग्नुभयो । तर, खुलामञ्चमा काठमाण्डौ महानगरपालिकाले बस्न नदिएपछि त्यस दिन राति खुला आकाशमुनि रात बिताउन बाध्य हुनुभयो । खानपिन र बासको ठेगान भएन ।

भोलिपल्ट उहाँहरु बालुवाटार, सिंहदरबार, माइतीघर हुँदै बल्ल अनामनगरको तमु बौद्ध सेवा समितिको हलमा बास बस्न पुग्नुभयो । धनुषाको गर्मी ठाउँबाट आउनुभएका दासलाई अघिल्लो दिन खुला आकाशमुनि बस्नुपर्दा काठमाण्डौको चिसोले समायो । रुघाखोकी र ज्वरोले सतायो ।

पीडितहरु बसेको तमु बौद्ध सेवा समितिको हलमा वीर अस्पतालका डाक्टरको टोलीले जाँच गर्यो । ‘आन्दोलनको लागि भनेर आएको । बिरामी पनि भइयो । डाक्टरहरु आएर वीर अस्पताल लगेर उपचार गरेर औषधि गरेर पठाइदिए,’ दास भन्नुहुन्छ, ‘अहिले पनि ठीक भएको छैन । अहिले पनि घाँटी दुखेको छ । खोकी लागेको छ । बोल्न गाह्रो भइरहेको छ ।’

दासजस्तै बिरामी पर्नुभएको छ मिटरब्याज पीडित विरुद्ध सङ्घर्ष समितिका संयोजक मनोजकुमार पासवान पनि । उहाँलाई पनि रुघाखोकीले सताएको छ । घाँटी बसेको छ । तर, अस्पताल नै जानुपर्ने अवस्था भने छैन । पासवान सङ्घर्ष समितिको मात्र संयोजक नभएर वार्ता कमिटीको पनि संयोजक भएका कारण उहाँले भने आफूलाई बिरामी भए पनि आराम गर्न पाउनु भएको छैन । निरन्तर खटिनु परेको छ । 

‘हामीले खुलामञ्चमा खुला आकाशमुनि रात बिताउनु परेका कारण धेरै मिटरब्याज पीडित बिरामी भएका छन् । हामी तराईको मान्छेलाई यहाँको चिसोले सतायो,’ पासवान भन्नुहुन्छ, ‘मिटरब्याज पीडित विरुद्धको आन्दोलनमा वृद्धवृद्धा, केटाकेटी अनि महिला पनि धेरै छन् । यहाँको चिसो तथा अन्य कारण धेरै जना बिरामी परे । केहीलाई अस्पताल लानु पर्यो । तर, साहुकारले दिएको पीडाको तुलनामा यो सामान्य नै पीडा हो।’

मिटरब्याज विरुद्धको आन्दोलनमा अहिले काठमाण्डौमा ९२ जना हुनुहुन्छ । मातातीर्थमा आइपुग्दा उहाँहरु ७२ जना हुनुहुन्थ्यो । धेरै जना पहिले पैदल हिँड्ने क्रममा बिरामी भएका कारण फर्किएर ठीक भएपछि फेरि अहिले जोडिन आइपुग्नु भएको छ । त्यसमा पनि काठमाण्डौको बसाइमा विभिन्न कुरा नमिल्दा अहिले धेरैमा स्वास्थ्य समस्या देखा परेको छ । रुघाखोकी त सामान्य जस्तै भएको छ भने धेरैमा घाँटी दुख्ने र बस्ने समस्या देखा परेको छ । 

धनुषा सबैलाकी कल्पना धामी पनि स्वास्थ्यमा समस्या भएका कारण धर्ना तथा प्रदर्शनमा सहभागी हुन बानेश्वर जान सक्नु भएन । उहाँलाई पनि रुघाखोकी तथा घाँटी दुख्ने समस्याले सताएको छ । अस्पताल नै जानु नपरे पनि उहाँ घाँटी दुखेका कारण औषधि खानु परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘चिसोले समस्या गरेको छ । घाँटीमा केही समस्या छ ।’

उहाँको ६ महिने शिशुलाई पनि चिसोले सताएका कारण खोकी लागेको छ । डाक्टरको टोलीले हेरेपछि अस्पताल नै लैजानुपर्ने अवस्था भने नरहेको उहाँ बताउनुहुन्छ । औषधि नै खुवाउनु पर्ने समस्या भने छैन । तर, खोकी भने अझै ठीक भएको छैन । उहाँ भन्नुहुन्छ, ‘बच्चालाई चिसो लागेको छ । खोकी लागेको छ ।’

मिटरब्याजी विरुद्धका आन्दोलन गर्न काठमाण्डौ आउनु भएका सिरहा गोलबजार नगरपालिका–१२ का सूर्यनारायण मुखियालाई चिसोले सताएको छ । चिसोका कारण उहाँलाई खोकी लागेको छ । स्वास्थ्यमा समस्या देखिएको छ जसका कारण उहाँ आराम गर्दै बसिरहनु भएको छ । तर, उहाँलाई आफ्नो स्वास्थ्यभन्दा पनि आन्दोलन कता जान्छ के हुन्छ भन्नेमा चिन्ता बढी छ । यसकारण उहाँ खोकी लागे पनि यसलाई सामान्य भनिरहनु भएको छ । 

‘काठमाण्डौमा चिसोले गर्दा अलि समस्या भयो । खोकी लागेको छ । तर, अहिले त ठिकै पनि भइसक्यो,’ उहाँ भन्नुहुन्छ, ‘यहाँ त बिरामीभन्दा पनि आन्दोलनको पो चिन्ता छ । बिरामी अलि अलि भए पनि अब ठीक भइसकेको छ । बिरामीभन्दा पनि अब यहाँ जुन कामको लागि आएको हो त्यसलाई सकाउनु पर्छ । अलि अलि खोकी लागेर केही हुँदैन ।’

संयोजक पासवानका अनुसार चिसो तथा मौसम केही फरक परेका कारण धेरै मिटरब्याज पीडितमा स्वास्थ्य समस्या देखिए पनि बिस्तारै ठीक हुँदै गएको छ । डाक्टरको टोलीले पीडितलाई जाँच गरेर औषधि दिने र अलि समस्या भएकालाई अस्पताल नै लगेर उपचार गरेका कारण त्यस्तो समस्या छैन । उहाँ भन्नुहुन्छ, ‘ठूलै समस्या त भएको होइन । तर, पनि केहीलाई अलि समस्या भयो । अहिले भने बिस्तारै धेरैलाई ठीक पनि हुँदैछ ।’

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया