प्रधानमन्त्रीलाई उद्घाटन–सम्मेलनमा जान भ्याइनभ्याइ छ, यति धेरै फुर्सद देखेर छक्क पर्छु : गगन थापा

 चैत २४, २०७९ शुक्रबार १६:२४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । 

शुक्रवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्देशन र घोषणाहरू मात्रै गर्दै हिँडेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीलाई उद्घाटन र सम्मेलनहरूमा जान भ्याइनभ्याइ भएको भन्दै प्रधानमन्त्री फुर्सद भएकोप्रति आफू छक्क परेको बताउनुभयो । प्रधानमन्त्रीसँग लक्ष्य पूरा गर्ने आत्मविश्वास नदेखिएको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री सबैभन्दा शक्तिशाली पनि हो । सबैभन्दा जिम्मेवार पनि हो । सरकार भनेको एक प्रकारले प्रधानमन्त्री हो । अब साझा न्यूनतम कार्यक्रमपछि यात्रा सुरु भयो । मेरो लक्ष्य प्रस्ट छ, यो लक्ष्यसम्म पुर्‍याउने जिम्मेवारी मेरो हो, जस भए पनि मेरो हो, अपजस भए पनि मेरो हो भन्ने अठोट, दृढता, आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ । तर कताकता मैले प्रधानमन्त्रीज्यूको काम, कारबाही हेर्दै गर्दा त्यो आत्मविश्वास नभएको, बढी अलमल भइरहेको पाएको छु । केही कार्यक्रममा मलाई अतिथिको रूपमा बोलाइयो । मैले भनेँ– म भ्याउँदिन । आयोजकहरूले भन्नुभयो– प्रधानमन्त्री आउँदै हुनुहुन्छ । प्रधानमन्त्रीलाई फुर्सद हुने तिमीलाई फुर्सद नहुने ? अप्ठेराे लाग्यो म गएँ । मेरो प्रधानमन्त्रीलाई यति धेरै फुर्सद किन छ भनेर कहिलेकाहीँ म छक्क पनि पर्छु । निर्देशन र घोषणा यो दुई वटा कुराले शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट प्रधानमन्त्री मुक्त हुनुपर्छ । निर्देशन नदिएको हुनाले गर्दा शासकीय परिणामहरू नआएका होइनन् । सुधारहरू नभएका होइनन् । समस्याको चुरोमा पुगिएन भने निर्देशनहरू अलपत्र हुन्छन् र कुनै बेला गएर फेरि मैले दिएका निर्देशनहरू मलाई सम्झाउनुस् भनेर निर्देशन सम्झाउनुपर्ने अवस्था आउँछ ।’

सांसद थापाले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम संसद् चलिरहेको बेलमा बाहिरबाट सार्वजनिक गरिएकोप्रति विरोध जनाउनुभयो । उहाँले न्यूनतम साझा कार्यक्रम संसदभित्रै प्रस्तुत हुनुपर्ने बताउनुभयो । संसद् चलिरहेको बेलामा यस्ता कार्यक्रमहरू संसदभित्रै प्रस्तुत गर्ने परम्परा बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

सांसद थापाले प्रधानमन्त्रीलाई काम गर्नका लागि राम्रो समूह चाहिने भन्दै प्रधानमन्त्रीसँग राम्रा समूह नभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको सरकारी समूह सजाय पाएको जस्तो रहेको टिप्पणी गर्नुभयाे । अन्त काम केही नभएर प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरूलाई थन्क्याउन लगिएको जस्तो भान हुने उहाँको भनाइ छ । उहाँले प्रधानमन्त्री प्रचण्डलाई गठबन्धनका दलहरूसँग बस्ने समय छोट्याएर सम्पूर्ण समय सरकारको काममा केन्द्रित हुन पनि आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया