सरकारको राजस्व सङ्कलनको अवस्था राम्रो छैन : अर्थ मन्त्री महत

 चैत २४, २०७९ शुक्रबार १८:२९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्री डा. प्रकाशशरण महतले सरकारको राजस्व सङ्कलनकाे अवस्था राम्रो नभएको बताउनुभएको छ । शुक्रवार आर्थिक पत्रकार सङ्घ (नाफिज) को छलफल कार्यक्रममा बोल्दै अर्थ मन्त्री महतले आयात प्रतिबन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेसको असरले देशको राजस्व सङ्कलन लक्ष्यअनुसार राम्रो नभएको बताउनुभएको हो ।

अर्थ मन्त्री महतले आन्तरिक रूपमा लगानी वातावरणको समस्या, बैंकको ब्याजदर उच्च भएका कारण अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्नुभयो । उहाँले मौद्रिक नीतिका उपकरणहरू प्रयोग गरी बैंक तथा वित्तीय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको बताउनुभयो । उहाँले बैंकको कर्जाको ब्याजदर कम गर्नसक्ने अवस्था भए बैंकहरूले सहयोग गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रको अवस्थाको विषयमा नागरिकलाई सकारात्मक सन्देश दिन आवश्यक रहेको पनि बताउनु भयो ।

मन्त्री महतले अर्थतन्त्र बिग्रियो भने पनि कतिपय तथ्याङ्कहरू राम्रो रहेको बताउनुभयो । उहाँले देशमा लगानीको वातावरणलाई सकारात्मक बनाउन मौद्रिक नीति र सरकारको आर्थिक नीति एउटै लक्ष्य प्राप्तिका लागि जान जरुरी रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो ,‘अहिले सरकारको राजस्वकाे अवस्था राम्रो छैन । प्रत्येक वर्ष सरकारले जीडीपी तथा अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वकाे लक्ष्य बढी राख्दै आएकाे छ । नजिक–नजिकको लक्ष्य प्राप्त पनि गर्दै आएका छौँ । चालु आर्थिक वर्षमा त्यो लक्ष्य प्राप्त नहुँदा के भयो भन्ने भएको छ । यो वर्ष आयात प्रतिबन्ध, कोरोना महामारीको अवस्था, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशले पनि असर पारेको छ । अर्थतन्त्र बिग्रियो भने पनि कतिपय तथ्याङ्कहरू राम्रा छन् । विदेशी मुद्रा सञ्चिति ठिक छ । नेपाल छिमेकी देशको तुलनामा भारतभन्दा कम भए पनि खराब नै भएको भन्ने छैन ।’

अर्थ मन्त्री महतले सरकार साधारण खर्चमा अत्यधिक मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने पक्षमा रहेको बताउनुभयो । उहाँले सरकारले साधारण खर्च घटाउने सम्भावना कम भए पनि सरकारले खर्च नगरे पनि हुने खालका खर्चलाई कटौती गर्ने उल्लेख गर्नुभयाे । उहाँले आउँदाे बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाहरूको माग आए पनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने प्रतिबद्धता जनाउनुभयाे । 

मन्त्री महतले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको भन्दै समयमा खर्च गर्ने प्रणालीको विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पूर्वाधार निर्माणकाे काम समयमा सम्पन्न नहुने, आयोजनाको लागत बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्ने गरी सरकारले तयारी थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले साधारण खर्चमा अत्यधिक मितव्ययिता अपनाउनुपर्छ भन्ने पक्षमा छौँ । धेरै मागहरू आए पनि धेरै कम गर्न कोसिस गर्छाैँ । सरकारले खर्च नगरे पनि फरक नपर्ने क्षेत्रहरूमा मन्त्रालयले प्राथमिकताका साथ हेर्छ ।’

अर्थ मन्त्री महतलाई नाफिजले देशको वर्तमान अर्थतन्त्रको अवस्थालाई हेरेर आउँदाे वर्षको बजेट बनाउन सुझाव दिएको छ । नाफिजले श्रमजीवी पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न सरकारले कार्यक्रम नै बनाउनुपर्ने माग पनि राखेको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया