कांग्रेसले फेरि सरकारकाे नेतृत्व लिन सक्ने सम्भावना छ : देउवा

 चैत २८, २०७९ मंगलबार १७:३३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गर्नुभएको छ । अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै उहाँले फेरि सरकारको नेतृत्व लिन सक्ने बताउनुभएको हो ।

मङ्गलवार काठमाण्डाैमा आयोजित पार्टी निकट नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनमा बोल्दै सभापति देउवाले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचेअनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले आफ्नो पार्टीले सोचेअनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

सभापति देउवाले संविधानअनुसार सरकार बनाउनका लागि पनि आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढ्नुपरेको उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयो, ‘आज हाम्रो पार्टी सरकारमा छ । भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो । तर अहिलेको संविधानअनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन । तापनि हामी सबै मिलेर लाग्याैँ भने पार्टीले बहुमत ल्याउन सक्ने सम्भावना छ ।’

कार्यक्रममा बाेल्दै देउवाले शिक्षकहरूको उचित सम्मानका लागि आफ्नो पार्टीले आउँदा दिनमा काम गर्ने आश्वासन दिनुभयो । विगतमा शिक्षकहरूले पार्टीका लागि सहयोग गरे पनि उनीहरूको हितमा धेरै काम गर्न नसकेको उहाँको स्वीकारोक्ति थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया