१० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दाेलन सुरु गर्ने बार एसाेसिएशनकाे चेतावनी

 चैत २९, २०७९ बुधबार १६:७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल बार एसाेसिएशनले सरकारलाई प्रधानन्यायाधीश नियुक्त गर्न १० दिनको अल्टिमेटम दिएको छ । बुधवार बार एसाेसिएशन परिसरमा पत्रकार सम्मेलन गरी बारले १० दिनभित्र सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त नगरे आन्दाेलन सुरु गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै बार एसाेसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम प्रधानन्यायाधीशबाट सर्वोच्च अदालत सञ्चालन भएको नै एक वर्ष बढी बितिसकेको भन्दै अबको १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन सुरु गर्ने चेतावनी दिनुभयो । उहाँले कार्यपालिका र व्यवस्थापिकाले सर्वोच्च अदालतलगायत न्यायालयलाई नै हेपेको आरोप लगाउनुभयो । उहाँले न्यायपालिकाको विकृति, विसङ्गति, भ्रष्टाचारमुक्त बनाउने अभियानको फेहरिस्त दिनसमेत माग गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हामी अब लगभग आन्दोलनको श्रेणीमा पुगेका छौँ । हामी ७ देखि १० दिन हेर्छाैँ । यसबीचमा समस्या समाधान भएन भने, अटोमेशन लागू गरेर पेसी व्यवस्थापन गर्नेतर्फ ध्यान गएन भने नेपाल बार एसाेसिएशनले उचित निर्णय लिन्छ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश तत्काल प्राप्त गर्नुपर्छ भन्ने हाम्रो प्रथम माग हो ।’

पत्रकार सम्मेलनमा सर्वोच्च अदालत बार एसाेसिएशनका अध्यक्ष हरिशंकर निरौलाले कानुन बमोजिम अविलम्ब  प्रधानन्यायाधीश नियुक्त गर्न माग गर्नुभयो । उहाँले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति नगर्नु भनेको न्यायपालिकाको लागि शुभ लक्षण नभएको बताउनुभयो । 

अध्यक्ष निराैलाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोगको टुङ्गो चाँडो लगाउन पनि माग गर्नुभयो ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया