नागरिकसँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन

 वैशाख १, २०८० शुक्रबार १४:३८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकसँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन गर्नुभएको छ । 

पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘सरकार र पार्टीको कामलाई योजनाबद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधिअनुसार आजदेखि भेटघाटको सुरुवात भएको छ । सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यन्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रूप दिन आग्रह गर्दछु ।’

उहाँले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औल्याउँदै नागरिक र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब नागरिक र कार्यकर्तातिर फर्केरमात्र पार्टी बन्छ । नेताहरूबाट समर्थन लिएर र सहयोगले नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नै पर्ने भएको छ । पार्टी हामी सबै मिलेर बनाउनु नै छ । पार्टी बनाउने राजनीति, विचार र संस्कृतिमा गयौँ भने पार्टी बन्न ढिलो पनि हुन्न ।’ 

प्रधानमन्त्री प्रचण्डले जतिसुकै चुनौती भए पनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्ने आफूहरूले सङ्कल्प लिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीका नेताहरूलाई निर्देशन दिँदै भन्नुभयो, ‘लेखौँ, बोलौँ र प्रतिक्रियावादी प्रतिक्रान्तिकारीको प्रतिरोध गरौँ । हामी सबैले आफ्नो भूमिका पूरा गर्‍यौँ भने हाम्रो तागत ठूलो छ । सरकारको नेतृत्व लिएपछि पनि धेरै कामहरू गर्न प्रयास भएका छन् । केही सफल भएका छन्, केही सफल हुँदैछन् । पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइमा उठाउन जरुरी छ । सरकारलाई नागरिकको आशा, अपेक्षाअनुसार जनमुखी बनाउने ऐतिहासिक चुनौती र जिम्मेवारी हाम्रो काँधमा छ ।’

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया