संसद् बैठक सकिएपछि मात्र सांसदले हाजिर गर्ने व्यवस्था गर्न माग

 वैशाख ३, २०८० आइतबार १४:३८:३२ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको आज आइतवारको बैठकमा आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा बाेल्दै सांसद हरि ढकालले गएकाे चैत २९ गते एक सय ६२ जना सांसदले संसदमा हाजिर गरेकामा अन्तिममा ६१ जना सांसदमात्र रहेको उल्लेख गर्दै थिति बसाल्ने ठाउँमै यस्तो हुँदा के सन्देश जाला भनी प्रश्न गर्नुभयो । बेलुकी संसद् बैठक सकिएपछि मात्र सांसदले हाजिर गर्ने व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।

यस्तै सांसद विद्या भट्टराईले कास्कीको सेती नदीको जोखिम क्षेत्रमा सर्वसाधारण दुर्घटनामा पर्ने क्रम बढेकाले नदी किनार वरपर तारबार गर्न माग गर्नुभयो ।

सांसद लेखनाथ दाहालले वीपी राजमार्गमा गएकाे चैत २९ गते जीप दुर्घटना हुँदा चार जना भारतीयको ज्यान गएकाे उल्लेख गर्दै त्यस राजमार्ग दैनिक चार हजार गाडी गुड्नका लागि बनाइएकाेमा दैनिक १० हजार गुड्दा समस्या आएकाले समाधान गर्न सरकारसँग माग गर्नुभयो । राजमार्गको ३२ किलोमिटर क्षेत्रमा आठ किमीको सुरुङ बनाएर छिटो एवम् कम खर्चमा यात्रा हुने भएकाले उहाँले यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद डा. तोसिमा कार्कीले चिकित्सा शिक्षामा योग्यताअनुसारको भर्ना क्रमलाई पन्छाएर स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाउँदा समस्या आएकाले सुधार गर्न माग गर्नुभयो । स्वास्थ्य संयन्त्रलाई क्षति हुनबाट बचाउन पनि योग्यता क्रमअनुसारको कार्यविधि हुनुपर्नेमा उहाँको जोड थियो ।

सासंद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदभन्दा बाहिर ‘व्यवस्था उल्ट्याउन खोजेको’ भनी भाषण गर्नुभएकोमा आपत्ति प्रकट गर्नुभयो । यस्तो विषय संसदमा आएर राख्न उहाँले प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिनुभयो ।

सांसद मेटमणि चौधरीले मानव बेचबिखनमा संलग्नलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । सांसद प्रेम सुवालले काठमाण्डाै विश्वमै फोहर सहरमा परिणत हुँदा क्यान्सरलगायत रोगका बिरामी बढेकाले राजधानीमा प्रदूषणको समस्या समाधान गर्न माग गर्नुभयो ।

सांसद रोशन कार्कीले पाँचखालकी मिर्गाैला पीडित सत्यदेवी थापाले कुमारी बैंकबाट लिएको ऋणको ब्याज तिर्दातिर्दै घर लिलामी गरिएकाले रोक्न माग गर्नुभयो ।

सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्र रुजु गर्ने जिम्मा निजी विदेशी कम्पनीलाई दिने निर्णय आपत्तिजनक भएको बताउनुभयो । सात दिनभित्र बोलपत्र गरेर गरिएको निजी कम्पनीलाई दिने निर्णय अवैध रहेको भन्दै उहाँले नयाँ पार्टीले पनि पुरानै शैलीमा काम गरेको बताउनुभयो ।

सांसद श्यामकुमार घिमिरेले सिन्धुली सदरमुकामबाट कटारी निस्कने सडकको ठेक्का भएको तीन वर्ष बिते पनि वनका कारण काम रोकिएको उल्लेख गर्दै एक लाख नागरिकलाई समस्या भइरहेकाले समस्या समाधान गर्न माग गर्नुभयो । वन ऐनलाई सार्वजनिक हितमा उपयोग गर्दा सहज हुने गरी संशोधन गर्न उहाँले माग गर्नुभयो ।

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया