सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दामा ओलीसँग छलफल गर्न प्रचण्ड र देउवा बालकोट जाँदै

 बैशाख ४, २०८० सोमबार ८:३३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दा (टीआरसी) लाई छिटो टुङ्ग्याउने विषयमा आज छलफल हुँदैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलको लागि माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट जाँदै हुनुहुन्छ । ओली अस्वस्थ रहनुभएकाले उहाँकै निवासमा पुगेर छलफल गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यसअघि गएकाे चैत २५ गते सभामुखको कार्यकक्ष सिंहदरबारमा तीन नेताहरूबीच यही विषयमा छलफल भएको थियो ।

सरकारले प्रतिनिधि सभामा पेस गरेको बेपत्ता व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक सदनमै छलफल गरेर फास्ट ट्रयाकबाट पारित गर्ने तयारी गरेको छ । तर एमालेले संसदीय समितिमा छलफल गराएर मात्रै विधेयक अगाडि बढाउनुपर्ने बताएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गएको फागुन २५ गते ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता गराउनुभएको थियो।

विधेयकमाथि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भइसकेको छ । विधेयकमा केही सांसदहरुले संशोधन दर्ता गरेका छन् । विधेयकमाथि परेका संशोधनमाथि सदनमै छलफल गर्ने कि विषयगत समितिमा लगेर दफावार छलफल चलाउने भन्ने विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका बीचमा कुरा मिलेको छैन।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया