लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

 बैशाख ११, २०८० सोमबार १०:५१:५१ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।  विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन लाग्नु भएको हो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ । त्यसैअनुसार मुख्यमन्त्री गिरिले विश्वासको मत लिन लाग्नुभएकाे हाे । 

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । तर एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । यसअनुसार एमालेका मुख्यमन्त्रीले गिरीले ३३ मतमात्रै पाउने देखिन्छ । सरकार टिकाउन आवश्यक ४४ मत पुर्याउन नसके गिरी नेतृत्वको सरकार ढल्ने छ । 

एक जना स्वतन्त्रसहित सत्तारुढ दलका ५३ जना सांसदले गिरीको विपक्षमा मतदान गर्ने तयारी गरेका छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महाराले सत्तारुढ दलहरुका सांसदहरुले मुख्यमन्त्री गिरीलाई विश्वासको मत नदिने बताउनु भयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया