अर्थतन्त्र कहालीलाग्दाे अवस्थामा छैन, सबै पक्ष मिलेर सुधार्नुपर्छ : अर्थमन्त्री महत

 वैशाख १३, २०८० बुधबार १६:४२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महत सत्तापक्ष र प्रतिपक्ष मिलेर अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौती समाधान गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्त्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले यस्तो बताउनुभयो । उहाँले अर्थतन्त्रमा कसरी समस्या देखियो र समाधानका उपायहरूको विषयमा अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अर्थतन्त्र सुधारका लागि सबै मिलेर समाधान गर्ने विषयमा उच्च नेतृत्व तहमा छलफल भइरहेको उहाँकाे दाबी छ ।

अर्थमन्त्री महतले सदनमा सांसदहरूले भनेकोजस्तो अर्थतन्त्र कहालीलाग्दो अवस्थामा नभएको भन्दै सरकार अर्थतन्त्र सुधाराेन्मुख गराउनसक्ने अवस्थामा रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा समस्याका चाङ रहेको स्वीकार्दै समस्या समाधान गर्न केही समय लाग्ने उल्लेख गर्नुभयो । उहाँले शिथिलतामा पुगेको अवस्थालाई चलायमान बनाउन आज बोलेर तत्काल चमत्कार हुने विषय नभएको जिकिर गर्नुभयो । उहाँले इमानदारिताका साथ क्षमता र योग्यताले भ्याएसम्म आफू र पार्टीभन्दा माथि उठेर देश र नागरिकलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अर्थमन्त्री महतले आफू अर्थमन्त्री भएर आएको एक महिना भएकाे भन्दै तत्काल अर्थतन्त्रका सबै समस्या समाधान गर्छु भन्न नसक्ने बताउनुभयो । उहाँले सबैको सहयोगमा सकेसम्म अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सम्पूर्ण ध्यान केन्द्रित हुने प्रतिबद्धता जनाउनुभयो । उहाँले अर्थतन्त्रमा बाह्य दबाब बढ्दै जाँदा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कडाइ गर्दा बैंकको ब्याजदर वृद्धि, मूल्यवृद्धि, आयात प्रतिबन्ध लगाउँदा अर्थतन्त्रमा समस्या आएको बताउनुभयो ।

अर्थमन्त्री महतले मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकारभित्र भएकाले सहज बनाउन सरकारले अनुरोध गरिरहेको बताउनुभयो । उहाँले बजार सङ्कुचनको अवस्थामा रहेकाले चलायमान बनाउनु पर्ने अवस्था रहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया