लुम्बिनीकाे मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चाैधरीकाे दाबी पेस

 बैशाख १४, २०८० बिहिबार १३:५४:३१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशमा आठ राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चाैधरीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेस भएको छ ।

आज बिहीवार दिउँसो ४ बजेसम्म बहुमतकाे सरकारका लागि दाबी पेस गर्न प्रदेश प्रमुखकाे कार्यालयले आह्वान गरेकाे थियाे । त्यहीअनुसार कांग्रेस, नेकपा माओवादी केन्द्रसहित आठ राजनीतिक दलसहित ५३ जना सांसदकाे हस्ताक्षर बुझाइएकाे कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी दिनुभएको छ ।

प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को ३ अनुसार एमालेले आफ्नो नेतृत्वमा अल्पमतको सरकार बनाउने तयारी थालेको थियो । तर प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि बहुमतकाे सरकार गठन हुन लागेकाे हाे ।

प्रदेशमा ८७ जना सांसद रहेका छन् । जसमा सबैभन्दा ठूलो दल एमाले हो । एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने माग गर्दै प्रदेश प्रमुख शेरचनलाई ज्ञापनपत्र बुझाएको थियो । 

लुम्बिनी प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टीका तीन, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक/एक र एक जना स्वतन्त्र सांसद रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया