गृहमन्त्रीको मिठो प्रवचन होइन शान्ति सुरक्षाको व्यवस्था हुनुपर्‍याे : विष्णु पाैडैल

 वैशाख १५, २०८० शुक्रबार १५:५८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आक्रमणको प्रयास हुँदा पनि सरकार मौन रहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

आज बिहीवार प्रतिनिधि सभाकाे विशेष समयमा बाेल्दै उपाध्यक्ष पौडेलले बिहीवार (हिजो) इलामको कार्यक्रमबाट फर्कने क्रममा पनि अध्यक्ष ओलीसहितका नेताहरूलाई 'एम्बुस' थापेर आक्रमणको प्रयास गरिएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले सत्तापक्षकै कार्यकर्ता पनि त्याे आक्रमणको घटनामा सामेल भइरहेको सूचना आफ्नो पार्टीले पाएको जिकिर गर्दै यथार्थ जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गर्नुभयो ।

उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गर्नेहरूलाई कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले सरकारले शान्ति सुरक्षाको व्यवस्था गर्न लाचारी र कायरता प्रदर्शन गरिरहेको भन्दै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो इलामको पशुपतिनगरबाट फर्कने क्रममा बाटोमा एम्बुस थापेर हाम्रा पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि आक्रमण गर्ने, आज पनि खुलेआम विरोध प्रदर्शन गर्दै तोडफोड गर्ने काम भइरहेको छ । यस्तो अवस्थामा सभामुख महोदय, हाम्रो देशमा सरकार छ कि छैन ? यो अत्यन्तै चिन्ताको विषय हो कि सरकारले अकर्मण्यता प्रदर्शन गरिरहेको छ । एक प्रकारले भन्ने हो लाचारीपन प्रदर्शित गरिरहेको छ । म यो कायरताको, लाचारीपनको घोर निन्दा र भर्त्सना गर्न चाहन्छु । खेद व्यक्त गर्न चाहन्छु । म भन्न चाहन्छु सभामुख महोदय, यो आक्रमणमा सरकार आफैँ संलग्न भएको छ । यो विषय सदनमा उठ्यो । गृहमन्त्रीले आएर जवाफ पनि दिनुभयो । तर आक्रमणकाे प्रयास रोकिँदैन । यो सरकारले चाहेको के हो ? हामीलाई गृहमन्त्रीको कुनै मिठो प्रवचन होइन शान्ति सुरक्षाको व्यवस्था हुनुपर्‍याे । नेताको मात्रै होइन नागरिकको पनि शान्ति सुरक्षाको सुनिश्चित गर्नुपर्‍याे ।’

उपाध्यक्ष पौडेलले सरकारलाई शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन पनि खबरदारी गर्नुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया