कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ : प्रधानमन्त्री

 बैशाख १७, २०८० आइतबार १७:८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।

आइतवार दिउँसो सिंहदरबारमा किसान सङ्गठनहरूका प्रतिनिधिसँगको संयुक्त भेटमा प्रधानमन्त्री प्रचण्डले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले त्यहीअनुसार तयारी गरिरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । यस पटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ । तपाईँहरूले दिनुभएको ध्यानाकर्षण पत्रले पनि सरकारलाई नयाँ ढङ्गले सोच्न सहयोग पुग्ने ठानेको छु । उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरि राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन ।’

प्रधानमन्त्री प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन किसान आन्दोलनको जगमा उभिएको छ भन्दै भन्नुभयाे, ‘प्रजातान्त्रिक आन्दोलनको जग पनि किसान आन्दोलन नै हो । आजको परिस्थितिमा उत्पादन पद्धतिमा फेरबदल आएको छ । वैदेशिक रोजगारीले कृषिप्रतिको आकर्षक घटेको छ । तर आज पनि अर्थतन्त्रको मुख्य मेरुदण्ड कृषि नै हो । यसलाई व्यवस्थित गर्नेतर्फ मेरो जोड छ ।’

प्रधानमन्त्रीले आफूले सरकारकाे नेतृत्व गरेकाे चार महिनामा निकै राम्रा काम भएका पनि उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘कतिपयले यो सरकारका राम्रा काम देखिरहेका छैनन् । तर चार महिनामा निकै राम्रा काम भएका छन् । लक्ष्यअनुसार नभए पनि राजस्व सङ्कलनमा राम्रो सुधार आएको छ । विदेशी मुद्राको सञ्चिति उत्साहवर्धक रूपमा बढेको छ । पर्यटक आउने क्रममा सुधार आएको छ । अर्थतन्त्रका धेरैजसाे सूचकमा सकारात्मक सुधार आएको छ । म सम्पूर्ण रूपले अर्थतन्त्रमा सुधार ल्याउन छलफल र अन्तरक्रियामा छु । केही समयमा सकारात्मक नतिजा देखिन्छ ।’

लघुवित्त र सहकारीलाई श्रम र उत्पादनमा केन्द्रित गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘लघुवित्त र सहकारीहरू वित्तीय कारोबारमा संलग्न हुँदा एकातर्फ वित्तीय अराजकता र नियमनमा समस्या देखिएको छ, अर्कोतर्फ उत्पादनको क्षेत्र ओझेल परेको छ । यिनीहरूलाई श्रम र उत्पादनको क्षेत्रमा केन्द्रित गर्नुपर्छ । नीतिमा नै आवश्यक व्यवस्था गरेर यससम्बन्धी समस्या समाधान गर्छाैँ ।’ 

भेटमा छ वटा किसान सङ्गठन आबद्ध किसान मोर्चाका नेताहरूले कृषि क्षेत्रलाई प्राथमिकता र किसानको सम्मानमा सरकारले ध्यान दिनुपर्ने बताउँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पेस गरेका थिए ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया