भ्रष्टहरू नै भ्रष्टाचारकाे विरुद्ध बाेलेकाे देख्दा अनाैठाे लाग्छ : प्रधानमन्त्री प्रचण्ड

 वैशाख १८, २०८० सोमबार १७:४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०४८ सालयताका सबै भ्रष्टहरूलाई कारबाही गर्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले पार्टीको चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार आयोग बनाएर छानबिन गरी भ्रष्टहरूलाई कारबाही गर्ने बताउनुभएको हो ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घले सोमवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले छिट्टै आयोग गठन गरी भ्रष्टहरूलाई कारबाही गर्ने प्रक्रिया सुरु गरिहाल्ने पनि बताउनुभयो । अहिले सबैभन्दा बढी भ्रष्टहरू नै भ्रष्टाचारविरुद्ध बोलेको देख्दा आफूलाई अनौठो लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई छानबिन गर्नका लागि तत्काल पहलकदमी लिने बताउनुभयो । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति सङ्केत गर्दै भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि इतिहासको फोहोरको डुङ्गुरमा फालिएकाहरू फेरि बाहिर निस्कने प्रयास गरेको भन्दै त्यस्ता प्रवृत्तिको विरुद्ध खडा हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,  ‘सबैभन्दा भ्रष्ट तत्त्वहरू भ्रष्टाचारको विरुद्ध बोलेको देख्दा अनौठो लाग्छ । हामीले चुनावी घोषणापत्रमा एउटा आयोग बनाएर २०४८ सालयताका सबै भ्रष्टहरूको छानबिन सुरु गर्नेछौँ भनेर भनेका छौं । छिट्टै त्यो आयोग बनाउनेतिर मेरो पहलकदमी हुनेछ । भ्रष्टहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।’

प्रधानमन्त्री प्रचण्डले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित भएर काम गरिरहेको दाबीसमेत गर्नुभयो । उहाँले आउँदाे आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट श्रमिकमुखी बनाउन आफूले विशेष ध्यान दिएको पनि बताउनुभयो । उत्पादन वृद्धि र रोजगारी सृष्टि हुने गरी सरकारले आउँदाे आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने उल्लेख गर्दै उहाँले त्यसका लागि आफू लडिराखेको उल्लेख गर्नुभयाे ।

कार्यक्रममा बाेल्दै प्रधानमन्त्रीले बहिर्गमित लडाकुहरूलाई दुई लाख रुपैयाँका दरले राहत दिने निर्णय आफूले नगरेको पनि दोहोर्‍याउनुभयाे । अघिल्लो सरकार र सर्वोच्च अदालतको फैसलाअनुसार आफूले लडाकुहरूलाई राहत दिन लागे पनि स्याल हुइँय्या मच्याउन खोजिएको उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Narayan Ac

    May 13, 2023, 7:35 a.m.

    अब तिमीबाट शुरु गरेर भ्रष्टाचारीलाई कार्वाही गर्नुपर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया