राष्ट्रपति पाैडेललाई गगन थापाको आग्रह– ‘उपचार खर्च आफ्नै खल्तीबाट बेर्होछु भन्नुहोस्’

 वैशाख १८, २०८० सोमबार १८:३३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले बेहाेर्नुपर्ने बताउनुभएको छ ।

सोमवार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च बेहोर्नुपर्ने बताउनुभएको हो । भारतबाट उपचार गरेर हिजाे आइतवार स्वदेश फर्किनुभएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभई आफ्नै खल्तीबाट बेहोर्नुपर्ने उहाँले बताउनुभयो ।

महामन्त्री थापाले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ बेहोर्छु भनेर सार्वजनिक गर्न आग्रहसमेत गर्नुभयो । गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपालको राष्ट्राध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री वा ठूलो मान्छे अस्वस्थ भयो, बिरामी भयो भने उसको उपचार राज्यको कोषबाट, नागरिकले तिरेको करबाट बाहिर लगेर उपचार गर्ने अनि उसको उपचार खर्च नागरिकले बेहाेर्नुपर्ने अथवा राज्यकोषले बेहोर्नुपर्ने । तर नागरिक चाहिँ अस्पतालमा उपचार गर्दा गर्दै पैसा तिर्न नसकेर कोही हाम फाल्नुपर्ने, काेही अस्पतालमा गए बन्धक बन्नुपर्ने अवस्था गलत हाे । यो गर्न पाइँदैन । यो गर्न पाइँदैन भनेर संसदमा हामीले कानुन बनाएका छौँ । त्यो कानुनलाई संशोधन गर्ने प्रस्तावकमध्येको एक म हुँ । यो गणतन्त्र हो, त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट बेहोर्नुपर्छ । म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त । त्यसले राष्ट्रपतिको सम्मान कहाँ पुर्‍याउँछ ? त्यसले राष्ट्रपतिको विश्वास कहाँ पुर्‍याउँछ ?’

कार्यक्रममा बाेल्दै महामन्त्री थापाले कांग्रेसले विगतमा चुनाव अगाडि अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महसुस गर्नुपर्ने बताउनुभयो । उहाँले आउँदा दिनमा पार्टीले कुनै पनि दलसँग कहिल्यै पनि गठबन्धन गर्न नहुने बताउनुभयो । 

उहाँले आउँदाे आर्थिक वर्षको बजेट बन्दै गरेको भन्दै बजेटमा श्रमिकहरूको न्यूनतम ज्याला पुनरावलोकनको माग राख्न ट्रेड युनियनकर्मीहरूलाई आग्रह गर्नुभयो । त्यस्तै श्रमिक अस्पताल निर्माणको माग गर्दै आन्दोलन गर्न पनि श्रमिकहरूलाई उहाँले आह्वान गर्नुभयो ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया