देश र नागरिकलाई केन्द्रविन्दुमा राखेर बजेट आउनेछ : अर्थमन्त्री महत

 बैशाख २६, २०८० मंगलबार १४:३१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताउनुभएको छ । 

मङ्गलवार राष्ट्रिय सभाको बैठमा सरकारले प्रस्तुत गरेको आउँदाे आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो अपेक्षा राखेको बताउनुभएको हो । उहाँले बैंकको ब्याजदर घटेसँगै व्यापारका लागि ऋण लिनेहरूको लागत कम हुने र व्यापार व्यवसाय फस्टाउने बताउनुभयो । सरकारको तर्फबाट पनि पुँजी खर्च हुन नसक्नु र मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन चाहेअनुसारको नहुँदा अर्थतन्त्रमा केही समस्या सिर्जना भइरहेको उहाँकाे भनाइ छ । उहाँले लक्ष्यअनुसारको आर्थिक वृद्धिका लागि पुँजीगत खर्चको प्रभाव बढाउन आवश्यक रहेको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘ब्याजदर धेरै छ, ऋण लिएकाहरू आहत छन् । अहिले राजस्व घटेको छ । अहिले पुँजीगत खर्च कम छ, त्यसले हाम्रो लक्ष्यअनुसारको आर्थिक वृद्धि भएन, अब हाम्रो पुँजीगत खर्चको प्रभाव बढाउनुपर्छ । हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, हामीले स्वीकार गर्नुपर्छ । अन्तिम समयमा गएरमात्रै खर्च गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ । खर्चको अनुगमन पहिलो दिनदेखि नै गर्नुपर्छ, महिना–महिना दिनमा गर्नुपर्छ । मलाई विश्वास छ, राष्ट्र बैंकले चाँडै नै मौद्रिक नीति खुकुलो पार्छ, त्यसपछि ब्याजदर घट्छ, घटेपछि लागत कम हुन्छ ।’

अर्थमन्त्री महतले आउँदाे आर्थिक वर्षकाे बजेट सीमित वर्गलाई मात्रै समेटेर नल्याउने स्पष्ट पार्नुभयो । उहाँले आउँदाे वर्षको बजेट एउटा वर्ग समूहलाई मात्रै लक्षित गरी नल्याउने प्रतिबद्धता जनाउनुभयो । आउँदाे वर्षकाे बजेटका लागि स्राेत जुटाउने चुनौती पनि सरकारलाई रहेको उहाँले बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘बजेटमा कुनै एक घरानालाई मध्यनजर राखेर फाइदा पुर्‍याउने काम गर्ने र कसैलाई मध्यनजर राखेर घाटा बनाउने काम हुँदैन, देश र नागरिकलाई मध्यविन्दुमा राखेर बजेट आउनेछ ।’

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया