रोमानिया, क्रोएशिया, माल्टालगायत देशबाट पोल्याण्ड र बुल्गेरिया...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – नक्कली भुटानी शरणार्थी प्रकरणमा भैरहेको छानबिन र अनुसन्धान कमजोर नबनाउन राजनीतिक नेतृत्वमाथि खबरदारी बढ्न थालेको छ ।
राजनीतिक दबाबका कारण अनुसन्धान तथा छानबिन प्रभावित हुन लागेको संकेत देखिएपछि संसद र जनस्तरबाटसमेत खबरदारी बढेको हो ।
संसदमा सांसदहरुले यस विषयमा निरन्तर आवाज उठाउँदै भ्रष्टाचार निवारण र सुशासनको प्रतिबद्धताबाट पछाडि नहट्न नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका छन् ।
सांसद एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि यो प्रकरणमा राजनीतिक नेतृत्व पनि संलग्न रहेको देखिएको छ ।
यस्तै यो प्रकरणमा पूर्व गृहमन्त्रीहरु रामबहादुर थापा बादल र बालकृष्ण खाँणको समेत नाम जोडिएको छ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र पूर्वमन्त्री खाँणकी पत्नी मञ्जु समेत संलग्न रहेको भन्ने आरोपमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
आरजु र मञ्जु दुवै सांसद हुनुहुन्छ । तर, यो विषयमा प्रहरीको अनुसन्धानलाई सहयोग गर्नुको साटो राजनीतिक शीर्ष नेतृत्वले असहयोग गरेको देखिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय यो प्रकरणको छानबिन गर्न अख्तियार र प्रहरी प्रशासन थप सक्रिय हुनुपर्ने बताउनुहुन्छ ।
संगठित गिरोहका संरक्षकलाई बचाउन राजनीतिक तह नै लागि परेको देखिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न दिनु पर्ने उहाँ बताउनु हुन्छ ।
अहिले अनुसन्धानमा संलग्न अधिकारी तथा अख्तियार दरिलो गरी अगाडि नबढेमा प्रकरण त्यत्तिकै ‘फासफुस’ हुने उहाँको भनाइ छ ।
यो प्रकरणमा सरकारका सचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङसहित १० जना पक्राउ परिसकेका छन् ।
२३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी अहिलेसम्म एक सय ६ जनाले २० वटा जाहेरी दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।