शीर्ष दलको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरण प्रवेश

 बैशाख ३१, २०८० आइतबार १६:५४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शीर्ष तीन दलका नेताहरूबीचको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल भएको बताउनुभएको छ ।

बालुवाटारमा आइतवार बिहान बसेको शीर्ष दलका नेताहरूको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणले प्रवेश पाएको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपनेता नेम्वाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई सघाउने गरी शीर्ष नेताहरूबीचमा छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बैठकमा प्रसङ्गवश नक्कली भुटानी शरणार्थी प्रकरणकाे विषय उठेको थियो । बैठकमा यो विषयमा तीन दलको बीचमा एउटा समझदारी छ, हामी तीन दल निष्कर्षमा छौँ, त्यो संविधान कानुन बमोजिम निस्कर्षमा पुगोस् भन्ने चाहना हो, त्यही कुरा भनिदिए हुन्छ भन्ने जवाफ आएको छ ।’

उपनेता नेम्वाङले शीर्ष नेताहरूको बैठकमा संसदीय गतिविधि र विधेयकहरूलाई अघि बढाउन समझदारी बनेको पनि बताउनुभयो । शीर्ष नेताहरूबीचको छलफल सकारात्मक भएको र सोमवारदेखि विषयगत समितिहरूको बैठक र सङ्घीय संसद्को संयुक्त समिति र नियमावली बनाउनेबारेमा पनि सहमति जुटेको बताउनुभयो ।

यसैगरी शीर्ष नेताहरूको बैठकमा प्रतिनिधि सभाका विषयगत समितिहरूमा सङ्घीय संसदमा कायम रहेको सदस्य सङ्ख्याका आधारमा नेतृत्व दिने सहमति जुटेकाे नेम्वाङले उल्लेख गर्नुभयाे ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लेखा समितिसहित एक संयुक्त समिति र अर्को विषयगत समितिको नेतृत्व गर्ने सहमति भएको उहाँकाे भनाइ छ । उपनेता नेम्वाङले बैठकमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने लगायतका विषयहरूमा चाँडै सहमति जुटाउने निर्णय भएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया