अब भाेलि अर्का सांसद अर्काे पुलमुनि आमरण अनशन बसेकाे सुन्नु नपराेस् : दीपक गिरी

 जेठ १, २०८० सोमबार १४:१९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारले सांसदहरूको माग सुनुवाइ नगरेको भन्दै आपत्ति जनाउनुभएको छ । जब्दी पुल निर्माणका लागि सांसद सञ्जय गौतमले आमरण अनशन सुरु गर्नुपरेको उल्लेख गर्दै उहाँले अरू सांसदहरूले आमरण अनशन बस्नुपर्ने अवस्था आउन नदिन पनि सरकारलाई सचेत गराउनुभयो ।

सोमवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गिरीले उदयपुरको त्रियुगा पुल, सङ्खुवासभाको अरुण पुललगायतका विकास, निर्माणको काममा सांसदहरूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले कुनै कदम चाल्न नसकेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो । उहाँले सरकारले सबै सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रको विकास, निर्माणको काम अघि बढाउनका लागि दबाब दिन आमरण अनशन नै बस्न बाध्य नपारोस् भनी चेतावनी पनि दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सुन्ने गर्थ्याैँ वीपी कोइराला राष्ट्रहितका लागि ३० दिन आमरण अनशनमा बस्नुभएको थियो । तमाम अनशन बस्नेहरू राष्ट्रका लागि बस्नुपर्ने थियो । आज आफ्नाे क्षेत्रकाे मागबारे सदनमा पटक–पटक कुरा राख्दा पनि सरकारले वास्ता नगरेपछि सांसद सञ्जय गौतम १५ सूत्रीय माग राखेर जब्दी पुलमुनि आमरण अनशन बसेका छन । नगरकोटको बाटो बन्दैन । जब्दी पुल बन्दैन । उदयपुरको त्रियुगा पुल बन्दैन । सङ्खुवासभाको अरुण पुल बन्दैन । दाङकाे चार लेन बाटाे बन्दैन । आमरण अनशन सुरु हुँदा पनि सरकारले आँखा लगाउँदैन । आज तीन दिन भयो, सांसद गौतम अनशन बस्नुभएको । अब भोलि नारायण खड्का त्रियुगा पुलमुनि आमरण अनशन बस्नुभएको छ भनेर सुन्न नपरोस् । पर्सि दीपक खड्का अरुणको पुलमुनि बस्नुभएको छ भनेर सुन्न नपरोस् । यो सरकारको आँखा खुलोस् । ’

सांसद गिरीले संसदमा सांसदहरूले राखेका मागबारे सरकारलाई गम्भीर बन्न पनि पटक–पटक आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया