१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत–साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताउनुभएको छ ।
सोमवार नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशालासम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले उपलब्ध स्रोत, साधन अनुत्पादक र कम उत्पादक क्षेत्रमा केन्द्रित हुँदा पनि अर्थतन्त्रमा समस्या देखिएको बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा देशभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिन्छ । त्यसैगरी सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत–साधनको उपयोग गर्ने, उपलब्ध स्रोत–साधन प्रत्यक्ष/अप्रत्यक्ष रूपमा अनुत्पादक वा कम उत्पादक क्षेत्रमा केन्द्रित हुनेजस्ता समस्या पनि देखिएका छन् । अहिले अर्थतन्त्रमा समस्या देखिनुमा यस्तै अनपेक्षित क्रियाकलाप पनि धेरै हदसम्म जिम्मेवार रहेका छन् । यस्तो प्रवृत्तिलाई रोक्न केन्द्रीय बैंक तथा बैंकिङ क्षेत्रले समयमै उचित कदम चाल्नु आवश्यक छ । हाम्रो अर्थतन्त्रले आन्तरिक र बाह्य कारणले सिर्जना भएका चुनौतीको उच्चतम विन्दु पार गरिसकेको छ ।’
प्रधानमन्त्री प्रचण्डले उत्पादन र रोजगारी वृद्धितर्फ देशले प्रगति हासिल गर्न नसकेको बताउनुभयो । उहाँले दैनिक उपभोग्य वस्तुकाे ठूलो मात्रामा आयात गर्नुपरेकाले व्यापार घाटा चुलिँदै गएको उल्लेख गर्दै सरकारको नीति, योजना र कार्यक्रमकाे प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्तो भएको उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘देशका अन्य क्षेत्रमा केही प्रगति भए पनि उत्पादन र रोजगारी वृद्धितर्फ हामीले प्रगति गर्न अझै सकेका छैनौँ । यसैको फलस्वरूप उपभोग्य वस्तुको ठूलो मात्रामा आयात गर्नुपरेकोले व्यापार घाटा चुलिँदै गएको छ । त्यसैगरी रोजगारीको खोजीमा प्रतिदिन ठूलो सङ्ख्यामा नेपाली युवा विदेशिनुपरेको अवस्था छ । यसो हुनुमा हाम्रो नीति, योजना र कार्यक्रम तथा तिनको कार्यान्वयन प्रभावकारी हुन नसक्नु प्रमुख कारण हो भन्न हामीले अप्ठ्यारो मान्नु हुँदैन । प्रभावकारी हुन नसकेको कतिपय कार्यक्रमलाई खारेज गरेर नयाँ कार्यक्रम कार्यान्वयन गर्न आवश्यक छ र सरकार त्यसै दिशातिर अगाडि बढ्दैछ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।