छोटो दूरीको गाडी भाडा चाहिँ कहिले घट्छ ?

 जेठ ४, २०८० बिहीबार १०:७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - डिजलको भाउ लिटरमै १० रुपैयाँ घटेपछि सरकारले हिजो बुधवारदेखि लामो दूरीमा चल्ने गाडीको भाडा घटाएको छ । तर छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा भने अझै घटाएको छैन । गाडीवालाले घटेको भाउमा डिजल हालेर गाडी चलाउन थाले पनि यात्रु भने डिजल महँगो हुँदा कायम भएको महँगो भाडा तिर्न बाध्य छन् । 

डेढ महिनामा डिजलको मूल्य लिटरमै २० रुपैयाँले घटेको छ । घटेको मूल्य अनुसार डिजलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ कायम भएको छ । डिजलको घटेको मूल्य अनुसार छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा पनि घट्नुपर्ने हो तर अहिलेसम्म भाडा घटेको छैन । डिजलको मूल्य घटेको दुई दिन भैसक्दा पनि पुरानै भाडा तिर्नुपरेको यात्रुले गुनासो गरेका छन् । 

यसअघि गएको चैत २० गते डिजलको भाउ लिटरमा १० रुपैयाँले घट्दा गाडी भाडा घटेको थिएन । त्यसपछि हिजो डिजलको भाउ फेरि लिटरमा १० रुपैयाँले घटेको छ । यसअघि स्वचालित मूल्य प्रणालीअनुसार डिजलमा घटेको मूल्य ४ दशमलव ०६ प्रतिशत मात्रै भएकाले त्यसबेला मूल्य समायोजन हुन नसकेको यातायात व्यवस्था विभागले जनाएको छ । २०७८ चैत १७ मा इन्धनको बजार मूल्य ५ प्रतिशत वा त्यसभन्दा थप बढे वा घटेमा भाडा समायोजन गर्नुपर्ने निर्णय विभागले गरेको थियो । त्यसअनुसार हिजो मात्रै विभागले लामो दूरीको भाडादर समायोजन गरेको थियो । 

अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ । छोटो दूरीको भाडा प्रदेश सरकारले निर्धारण गर्नुपर्नेमा ढिलासुस्ती भएको छ । आफूहरुले लामो दूरीको भाडा समायोजनलाई पर्खिएको र हिजो मात्रै समायोजन भएकाले छोटो दूरीको भाडादर समायोजन गर्न ढिलाइ भएको यातायात व्यवस्था कार्यालय बाग्मती प्रदेश हेटौँडाका सूचना अधिकारी राजु अर्यालले उज्यालोलाई बताउनुभयो । उहाँका अनुसार अबको एक/दुई दिन भित्रै बाग्मती प्रदेशमा भाडा समायोजनको तयारी छ । 

यसअघि डिजलको भाउ बढेको बेला लामो दूरीको गाडीभाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायीले त्यसबेला प्रदर्शन समेत गरेका थिए ।

व्यवसायीको दबाबपछि बाग्मती प्रदेश सरकार भाडा बढाउन सहमत भएको थियो । पोहोर वैशाख १ अर्थात् नयाँ वर्षदेखि लागू हुनेगरी प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीका गाडीको भाडा बढेको थियो । बढेको भाडा अनुसार यात्रुले काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडीमा चढ्नेबित्तिकै २० रुपैयाँ भाडा लाग्दै आएको छ । अहिले ५ किलोमिटरसम्मको भाडादर २० रुपैयाँ छ । भाडा बढ्नुअघि १८ रुपैयाँ रहेको थियो । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया