नेपाल एअरलाइन्सले १२ हजार ७ सय रुपैयाँमै मलेसिया–भैरहवा उडाउने

 जेठ ४, २०८० बिहिबार १७:२२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । त्यस अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।

‘नेपाल एअरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाण्डौ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ, त्यस अवसरमा मलेसिया–भैरहवा–काठमाण्डौका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ’, निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार मलेसिया–भैरहवाका लागि १२ हजार सात सय र मलेसिया–भैरहवा–काठमाण्डौका लागि १४ हजार सात सय २० रुपैयाँ भाडादर कायम गरिएको छ । निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न चाँडै नै शटल बसको व्यवस्था गर्ने उहाँको भनाइ छ ।

निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । भैरहवाबाट अहिले निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।  

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको टोलीले भर्खरै गरेको मलेसिया भ्रमणमा सिभिल एभिएसन अथोरिटी मलेसियाका निर्देशकसँग मलेसियाबाट भैरहवा नियमित उडानसम्बन्धी विविध पक्षमा छलफल गरेको निगमले उल्लेख गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

3 Comments

  • Gandha Bahadur rai

    May 19, 2023, 5:43 a.m.

    सर नमस्कार। म ब्रुनाई देखि सर के ब्रुनाई बात नेपाल र नेपाल बात ब्रुनाई को टिकट उपलब्ध हुन सक्छ सर?

  •  1 Reply
  • How to buy online ticket of Bhairawa-Kuala lumpur

    May 18, 2023, 7:17 p.m.

    I didn't found any website to buy online ticket of Nepal Airlines in Bhairawa-Kuala lumpur route..

  •  0 Reply
  • सन्तोष बराल

    May 18, 2023, 6:49 p.m.

    अब पोखरा उडान गराउनको लागी फेरी मलेशिया पुग्नेहोला है

  •  0 Reply

तपाईको प्रतिक्रिया