नक्कली शरणार्थी प्रकरण : चार वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइँदै

 जेठ ८, २०८० सोमबार ६:४८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम ठगी गरेको अभियोगमा पक्राउ परेकाहरूको बयान सकेपछि प्रहरीले आज साेमवार अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । जिल्ला प्रहरीले परिसर काठमाण्डौले हिजो आइतवार नै प्रतिवेदन बुझाउने भने पनि प्राविधिक कारणले ढिलो भएको जनाएको छ ।

आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा प्रतिवेदन बुझाउने प्रहरीले जनाएको छ । अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोगपत्र तयार पार्न सरकारी वकिलको कार्यालयले आठ सदस्यीय कार्यदल बनाइसकेको छ । कार्यदल गठनसँगै प्रहरीले हिजो नै अनुसन्धानको आंशिक प्रतिवेदन पेस गरिसकेको छ । आज मूल प्रतिवेदन बुझाउन लागिएको हो । 

प्रहरीले आरोपितलाई बयान लिएर चार वटा अभियोगमा मुद्दा दायर गर्ने गरी प्रतिवेदन तयार पारेको छ । उनीहरूविरुद्ध ठगी, राज्यविरुद्धको अपराध, सरकारी दस्तखत किर्ते, सङ्गठित अपराधको अभियोगमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ । आरोपितविरुद्ध मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, प्रमाण नष्ट, सार्वजनिक पदको दुरुपयोग, भ्रष्टाचारलगायत अरू कसुर पनि आकर्षित हुने देखिएको छ । तर अहिले चार वटा कसुरमा मुद्दा चलाउने रायसहित प्रहरीले प्रतिवेदन बुझाउने तयारी गरेको हो । 

नक्कली शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, सन्दीप रायमाझीसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरजसहितका व्यक्ति भने फरार छन् ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया