ओलीप्रति माधव नेपालकाे टिप्पणी : ‘आफ्नो पीडा, व्यथा पोखेरमात्रै हुँदैन’

 जेठ ८, २०८० सोमबार १३:९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथामात्रै पोखेको टिप्पणी गर्नुभएको छ । उहाँले ओलीको नामै नलिई आफ्नो पीडा र व्यथा पोखेरमात्रै केही नहुने बताउनुभयो । 

हिजाे आइतवार ओलीले सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम स्वीकार गर्न नसकिने अडानसहितको धारणा राख्नुभएको थियो । आज सोमवार अध्यक्ष नेपालले ओलीको त्याे अभिव्यक्ति अरूलाई घाेचपेच हुने गरी आएको भन्दै आलोचना गर्नुभयो । उहाँले सरकारमा रहन नसक्नुको कारणबारे पनि अरूलाई दोष नदिन ओलीलाई सचेत गराउनुभयो ।

अध्यक्ष नेपालले ओलीले आफ्नो सम्बोधनमा अरूलाई सत्तोसराप गरेको र आफ्नो कमजोरी भने स्वीकार नगरेको आरोपसमेत लगाउनुभयो । ओलीमा व्यक्तिवाद रहेको र त्यो सबैभन्दा ठूलो समस्या रहेको उहाँले बताउनुभयाे । अध्यक्ष नेपालले भ्रष्टाचारको जालोलाई तोड्ने काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले एकले अर्कालाई घोचपेच गरेरमात्रै हुँदैन । आफ्नो पीडा, व्यथा पोखेरमात्रै हुँदैन । सरकारमा बस्न सकिएन । त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन, त्यसको पछाडि पनि अरूलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो ? त्यसको निम्ति अरूलाई सत्तोसराप गरेर पनि हुँदैन । त्यसो हुनाले आफूभित्र रहेकाे कमजाेरीकाे समीक्षा गराैँ ।’

अध्यक्ष नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया