१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध आज बुधवार मुद्दा दायर गरेको छ । उनीहरूलाई ठगी, किर्ते, राज्यविरुद्धको अपराध, सङ्गठित अपराध र एकीकृत कसुरमा जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले आरोपितहरूबाट २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरेको छ । मुद्दा दायर गर्नका लागि आज अन्तिम म्याद थियो । सङ्गठित अपराधसम्बन्धी अभियोगमा प्रहरीले अनुसन्धान थालेको ६० दिनभित्र सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरिसक्नुपर्ने व्यवस्था छ । आरोपीहरूलाई अदालतले दोषी ठहर गरेमा ७० हजार रुपैयाँ जरिबाना र सात वर्षसम्म कैद सजाय हुन सक्नेछ ।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको अध्ययन गरी मुद्दाबारे निर्णय लिन सरकारी वकिलको कार्यालयले आठ जनाको टोली बनाएको थियो । टोलीको रायअनुसार मुद्दा दायर गरेको सरकारी वकिलको कार्यालयले जनाएको छ । मुद्दा दर्ता भएका ३० मध्ये १६ जना पक्राउ परिसकेका छन् । १४ जना फरार रहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध मुद्दा चलाउन भन्दै आरोपितहरूबाट २७ करोड ५० लाख ५७ हजार रुपैयाँ बिगो असुल गर्न सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको थियो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका व्यक्तिहरूमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री वालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीलाई स्वदेश फिर्तीका लागि अभियान चलाइरहेका शरणार्थी नेता टेकनाथ रिजाललगायत रहेका छन् । रायमाझी, खाण, पाण्डे, रिजालसहित पूर्वसभासद आङटावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप तथा बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राईलगायत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । मुद्दा दायर भएपछि अब अदालती प्रक्रिया सुरु हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।