भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता छैन : नेपाल प्रहरी

 जेठ ११, २०८० बिहिबार ७:१२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रहरीले भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता नरहेको बताएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले हिजो एक विज्ञप्ति निकालेर नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको कुनै संलग्नता नरहेको बताउनुभएको हो ।

कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएका समाचारले भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी सङ्गठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा यस्ता खबरप्रति नेपाल प्रहरी प्रधान कार्यालयको पूर्ण असहमति रहेको विज्ञप्तिमा उल्लेख छ ।

कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने तथ्य स्थापित गर्न खोजेर प्रहरी महानिरीक्षकलाई विवादमा तान्न खोज्नु निन्दनीय भएको पनि उल्लेख छ ।

प्रवक्ता कडायतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेस गरिसकेको अवस्थामा आरोपित भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको प्रचार गरिनु सङ्गठनकै लागि दुःखद् रहेको बताउनुभयो ।

  
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया